प्रकाश बन्जारा ।
इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ७ मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्थामा पुर्व व्यवस्थापक टंक माया पौडेलले मन मर्जी गरेको र वेरुजु फर्स्यौट नगरेको सञ्चालकले बताएका छन् ।
सहकारीको रकम पदाधिकारी तथा पुर्व कर्मचारीले अपचलन गरेको आरोप लागेपछि बसेको सञ्चालक समितिको बैठकले आन्तरिक लेखा परीक्षणबाट आएको रिपोर्ट बाह्य लेखा परीक्षकलाई देखाउँदै लेखा परिक्षण गराउने र आएको बेरुजु पुर्व व्यवस्थापकबाट पूर्ती गर्ने निर्णय गरेको हो ।
संस्थामा लामो समय व्यवस्थापकको रुपमा रहेकी पुर्व व्यवस्थापक टंक माया पौडेलले कार्यलयको हिसाव किताव चुस्त दुरुस्त नराख्दा समस्या भएको भन्दै सञ्चालक समितिले लेखा परीक्षणबाट आएको ७ लाख ९३ हजार रूपैँयाको बेरुजु उनै पुर्व व्यवस्थापकबाट असुल उपर गर्ने र तिर्न आनाकानी गरे कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको सहकारीका सञ्चालक केशव प्रसाद पौडेलले बताए ।
शनिवार सहकारी सञ्चालक समितिले वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतमको रोहवरमा बैठक गरेको थियो ।सहकारीमा पुरानो हिसाव मिलान नभएको भएता पनि अहिलेको अवस्था राम्रो रहेको र बचत कर्ताको बचत जोखिममा नरहेको संस्थाले बताएको छ ।
संस्थाको आकार बढ्दै गएपछि हिसाव किताव राख्न समस्या हुँदा पुर्व व्यवस्थापक पौडेल संस्थाबाट बाहिरिएकी थिइन । संस्थाबाट बाहिरिएपनि उनले हिसाव किताव रुजु गरेर नबुझाएको समाचार स्रोतले बताएको छ ।
यतिसम्मकी संस्थामा आएको रकमको लगत नै नराखी पैसा लिने गरेको र खातामा प्रविष्ट नगरी रकम अपचलन गर्ने गरेको स्रोत बताउँछ ।
कतिपय विश्वासी सेवाग्राही तथा सदस्यलाई नगदी रसिद विनै पैसा लिने र पछि पैसा नदिएको भन्दै छलि गर्ने गरेको समेत समाचार स्रोतको दावी छ ।
संस्थामा ऋण लिएको लगत भएता पनि ऋण तिरेको लगत नभएको कारण कतिपय ऋण लिएका सदस्यले समेत पुन ऋण तिर्नुपर्ने दवाव खेपिरहेको पाइएको छ ।
सञ्चालक समितिको बैठकले आगामी सोमबार लेखा परीक्षकलाई बोलाउने र पुन एक पटक लेखापरीक्षण गराई बेरुजु रकमको हिसाव निकालेर असुल उपर वा कानुनी कारवाहीको प्रक्रिया थाल्ने गरी निर्णय गरेको पाइएको छ ।