इटहरी । महिला जनप्रतिनिधिहरुले नगरपालिका तथा वडामा महिला जनप्रतिनिधिको गन्ती नै नगर्ने गरेको गुनासो गरेका छन् ।
दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको उनको नेतृत्व कार्यक्रमद्वारा बिहिबार इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै महिला जनप्रतिनिधिहरुले पुरुष प्रतिनिधिको प्रभाव कार्यक्षेत्रमा रहेका कारण आफूहरुसँग रहेको जनताको अपेक्षा पुरा गर्न गाह्रो हुने गरेको समेत बताए ।
सुनसरी जिल्लाका ८ वटा पालिकाका सिमित महिला जनप्रतिनिधि, जिल्लाको पदाधिकारी तहका राजनितिक दल, तथा संघ संस्थाका प्रतिनिधि बिच लैंगिक हिंसा सम्बन्धि अभियानकै अवसर पारेर आयोजना गरिएको अनुभव आदान प्रदान गोष्ठीमा बोल्दै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उरावले आफु कार्यकक्षमै रहँदा अध्यक्ष र प्रमुख प्रशासकिय लगायत पुरुष प्रतिनिधिको बैठक हुने तर आफुलाई जानकारी नै नहुने गरेको बताइन ।
पालिकामा प्रमुख र उपप्रमुख अलग पार्टीबाट निर्वाचित भएका कारण समेत एक अर्का बिचको तालमेल नहुने र काम गर्न गाह्रो हुने गरेको अनुभव पोखेकी थिइन । यता दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडाले सि लिड कार्यक्रमबाट धेरै महिला जनप्रतिनिधिको क्षमता विकास भएको भन्दै यस्तो संस्था फेज आउट भएर जान नहुने तर्क राखिन ।
कोशी प्रदेशबाट ग्रेह्र सरकारी संस्थाहरुको कार्यक्रम फेज आउट भएर जाने क्रम बढेको बताउँदै अवको दिनमा अझै सशक्त भएर उठ्न कार्यक्रमको खाँचो पर्ने खतिवडाको भनाई थियो । अवको दिनमा गाउँबाट योजनाहरु आउनु पर्ने तर्क राख्दै उपप्रमुख खतिवडाले महिलाहरु धेरै बोल्ने गरेको आरोप लाग्ने गरेपनि जिम्मेवारी धेरै दिने तर स्रोत साधन नदिने गरेर सरकारले नै उपमेयर हरुलाई फेल बनाइरहेको गुनासो गरेकी थिइन ।
यता बराहा क्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी राईले आफूपनि महिला भएकै कारण पीडामै भएको बताउँदै महिला वडा सदस्य तथा कार्यपालिका सदस्यहरुका लागि बराहा क्षेत्र नगरपालिकाले धेरै पहल गरेको बताइन ।
कार्यक्रममा उपस्थित भएका अधिकांश महिलाहरुले सि लिड्स कार्यक्रमले महिला जनप्रतिनिधिहरुलाई बोल्न सक्ने बनाएको बताएका थिए । उनीहरुले सोहि परियोजनाले सञ्चालन गरेको तालिमका कारणबाट आफुहरुले वडा कार्यलय तथा नगरपालिकामा आफ्नो अधिकार खोज्न तथा आफ्नो कर्तव्य पुरा गर्न सक्ने भएको साथै आफनो अधिकार नपाएको खण्डमा विद्रोह गरेर समेत अधिकार पाएको बताएका थिए ।
महिला जनप्रतिनिधिहरुले समाजमा, पालिकामा तथा घरमा आफुले भोग्नु परेको चुनौतीबारे खुलेर बोलेका थिए भने राजनितिक दलमा पदाधिकारीहरुले महिलालाई अवसर प्रदान गर्न र आगामी निर्वाचनमा महिला आरक्षण बढाउन आफ्नो प्रतिवद्धता समेत प्रकट गरे ।
नेकपा एमाले सुनसरीका उपसचिव राम कोइरालाले आफु जिल्लाको पार्टी कमिटी पदाधिकारी भएको नाताले आगामी स्थानीय तहको निर्वाचनका लागि ३५ प्रतिशत वडा अध्यक्षमा महिला आरक्षण हुने गरी टिकट वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट योगेन्द्र मण्डलले आफ्नो पार्टीले महिलालाई नेतृत्वमा पुर्याउन कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै जनमत पार्टीका सुनसरी संयोजक रामचन्द्र मेहताले आफ्नो पार्टीको एकमात्र मन्त्री हुँदा समेत महिलालाई मन्त्री बनाएर पठाएको बताए भने नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष गोविन्द निरौलाले समेत आफ्नो पाटीको तर्फबाट महिलालाई नेतृत्वमा ल्याउन भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
धरान उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख मन्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रमलाई सि लिड्सका सुनसरी संयोजक राम सुन्दर मेहताले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा दलित महिला केन्द्र नेपालकी कोशी प्रदेश संयोजक अनिता परियारले सि लिड कार्यक्रमको बारेमा बोल्दै यसले हालसम्म गरेको तालिम तथा प्रगति र उदेश्यका चर्चा गरेकी थिइन ।