इटहरी। इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारीका सञ्चालक अध्यक्ष फोगेन्द्र मगर सहित पाँच जना सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शनिवार पक्राउ गरेको छ ।
बचत कर्ताको करोडौँ रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल , कुमार आले सहित छन् । बचत कर्ताहरूले पटक पटक रकम फिर्ताको माग पनि फिर्ता गर्न नसकेपछि अम्बेको विरुद्ध प्रदेश सहकारी रजिष्टारको कार्यालयमा उजुरी परेको थियो ।
पिडित बचत कर्ताले इटहरी उपमहानगरपालिका हुँदै प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय इनरुवामा दबाब मूलक कार्यक्रमहरू गर्दै आएका थिए ।
बचत कर्ताहरूकै समूहबाट दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए ।
सो समुहले समेत प्रदेश सहकारी रजिष्टारको कार्यलयमा धर्ना दिनुका साथै संघर्षका कार्यक्रम गरेको थियो । बचत कर्ताले गरेको उजुरीको आधारमा सहकारीका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने गरी सहकारी रजिष्टार कार्यालयले जिल्ला प्रशासन कार्यलय सुनसरीलाई लेखि पठाएपछि उनिहरुलाई पक्राउ गरिएको हो ।
बारम्बारको ताकेताबाट पनि बचत कर्ताको बचत फिर्ता गर्न नसकेपछि अनुसन्धान गर्न आफुहरुले जिल्ला प्रशासन कार्यलय सुनसरीलाई लेखि पठाएको प्रदेश सहकारी कार्यलय कोशी प्रदेशका निमित्त रजिष्टार हरि बहादुर खत्रीले बेष्ट सञ्चारलाई जानकारी दिए ।
पक्राउ पाँचै जनालाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अम्बे सहकारीलाई ५ हजार बढी बचत कर्ताहरूको ४२ करोड बढी रकम अपचलन गरेको आरोप छ ।