इटहरी । इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयर धनीका लागि १ करोड ३० लाख ३२ हजार ५६८ रुपैँया बाँड्ने भएको छ ।
संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
१३ प्रतिशत बोनस सेयरमा कम्पनीको १ करोड २३ लाख ८० हजार ९४० रुपैँया खर्च हुन आउँछ भने जसको कर प्रयोजनका लागि ६ लाख ५१ हजार ६२८ रुपैँया जान्छ । बोनस सेयर पाउने शेयर धनीलाई कर तिर्ने झण्झट टार्न नगद लाभांश देखाइएको हो ।
संस्थाको कुल चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैँया छ । संस्थाको सञ्चालक समितिले पारित गरेको बोनस र सेयर रकम नेपाल राष्ट्र बैँकको स्वीकृत पश्चात संस्थाको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।