इटहरी । इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी संस्थाका लेखाहेर्नेहरुलाई लक्षित गर्दै तीन दिने आधारभुत सहकारी लेखापालन तालिम मंगलबारबाट शुरु गरेको छ ।
हालै मात्रै आधारभुत सहकारी व्यावस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको उपमहानगरले सहकारी संस्थाहरुमा भइरहेको विचलनलाई सहि बाटोमा ल्याउन अर्को चरणको तालिम संचालन गरिएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् ।
तालिम इटहरी स्थित होटल इन्टुरिष्टमा हुँदैछ । मंगलबारबाट शुरु भएको लेखापाल सम्बन्धि तालिमको उद्घाटन उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरीले गरेकी छन् ।
तालिममा इटहरी उपमहानगरको नियमन भित्र रहेका सहकारी संस्थाका लेखापाल, लेखा सुपरिवेक्षण समितिको संयोजक तथा सदस्य साथै व्यावस्थापकहरु गरेर २६ जना सहभागीहरु रहेका छन् ।
यस अघि उपमहानगरले यहि कार्तिकको १५,१६ र १७ गते आधारभुत सहकारी व्यावस्थापन तालिम सम्पन्न गरेको थियो । सो तालिममा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको सहकारी शाखाले बताएको छ । तालिमका २५ जनाको सहभागिता रहेको थियो ।
नगरपालिकाले सहकारीलाई प्रवद्र्धन गर्ने सम्बन्धमा बार्षिक कार्यक्रममै राखेर सहकारीलाई सुरक्षित तवरले संचालन गर्न यस्तो तालिमको आयोजना गर्ने गरेको छ । भोलिका दिनमा अझ परिस्कृत खालका तालिमका कार्यक्रम आउने सहकारी शाखाले बताएको छ ।