इटहरी । नेपाल ट्वान्टी(२० विश्वकपमा छनोट भएको छ । शुक्रबार भएको खेलमा युएई विरुद्ध सानदार जित निकाल्दै ट्वान्टी(२० विश्वकपका लागि छानिएको हो । नेपाल एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।
१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेल २ चौका प्रहार गरी ८ बलमा ११ रन बनाइ आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।
ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पुरा गरेको थियो ।
नेपालले दशकपछि ट्वान्टी(२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् ।
ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी(२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो .