इटहरीको किसान कल्याणले मनायो २८ औँ स्थापना दिवस, इटहरी सेवा केन्द्र उत्कृष्ट घोषित

इटहरी । इटहरी १६ मा मुख्य कार्यालय रहेर कारोबार गरिरहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ स्थापना दिवस मनाएको छ ।

संस्थाको मुख्य कार्यालयको प्रांगणमा सोमबार आयोजना गरिएको एक भव्य कार्यक्रमका बिच आफ्ना झण्डै ५ दर्जन सदस्यलाई बिभिन्न बिधामा पुरस्कृत गर्दै स्थापना दिवस मनाइएको हो ।

२०५३ साल कार्तिक १३ गते ३४ जना मिलेर स्थापना गरिएको किसान कल्याण बचत कोष २८ औँ बर्षमा आइपुग्दा २२ हजार सदस्य र १ अर्व २७ करोडको संस्था बनेको कार्यक्रममा उपस्थित अतिथी तथा सदस्यलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका  अध्यक्ष मीनराज कंडेल प्रमुख अतिथी तथा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल बिशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए ।

संस्थाले बिभिन्न सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने सदस्य, बाल बचत कर्ता, सदस्य विस्तारमा योगदान गर्ने सदस्यहरु साथै ऋण कारोबारमा उत्कृष्ट सदस्यका साथै युवा उद्यमी र व्यावसायीलाई समेत पुरस्कार प्रदान गरेको छ ।कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले बालग्राम तथा एकम्वा क्षेत्रका ३४ जना किसान मिलेर खोलेको संस्था यो आकारमा वृद्धि भएको हेर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।

स्थापना दिवसको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाको वर्तमान अवस्थाको बारेमा जानकारी दिँदै संस्थाको दर्ता हुँदाका बखत ३ लाख ६२ हजार को कुल पुँजी र ३ वटा गा.वि.स. संस्थाको कार्यक्षेत्र रहेकामा आजको मिति सम्ममा संस्थामा २२ हजार ८३ जना सदस्यहरु, १ अर्व २९ करोडको कुल वासलात रहेको भन्दै कुल सदस्य संख्या र वासलातका आधारमा सुनसरी जिल्लाको सवैभन्दा ठुलो साकोस बन्न सफल भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेफ्स्कुनका केन्द्रिय अध्यक्ष परितोष पौड्यालले किसान कल्याणले अव शुद्धिकरण र सुदृढीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याएका थिए । एक भन्दा बढी बचत तथा ऋण सहकारीको सदस्य बनेका सदस्यलाई कि त किसान कल्याणमै मात्रै राख्ने कि त अन्तैको संस्थामा जान प्रेरित गर्दै संस्थाले सबै सदस्यलाई उत्पादनमा लाग्न प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहालले किसान कल्याण बचत तथा ऋण सहकारी सुनसरी जिल्लामा मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको संस्था भएको बताए ।कार्यक्रममा कोशी प्रदेश बचत संघका सचिव लक्ष्मी सापकोटा, (नेफ्स्कुन) का सञ्चालक घनश्याम अधिकारी, मोरङ्ग जिल्ला सहकारी संघ का सञ्चालक तथा नेफ्स्कुन सदस्य सेवा कार्यालय इटहरी का उपसमिति सदस्य हेरम्ब राज भट्टराई, कोशी प्रदेश बचत संघ का सदस्य तथा जनकल्याण साकोस दुहवी का अध्यक्ष मिलिराम चौधरी, सुनसरी बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष योगमाया सुवेदी ,सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ लि.का अध्यक्ष बाबुराम खत्री, एस ओ एस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लि.इटहरीका अध्यक्ष दिनेशकुमार भट्टराई,वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि.इनरुवाका अध्यक्ष विन्देश्वर मेहता लगायतको उपस्थिती रहेको थियो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका राजाबास सेवा केन्द्र प्रमुख रमेश दाहाललाई पुरस्कृत गरेको छ भने उत्कृष्ट सेवा केन्द्रको पुरस्कार इटहरी सेवा केन्द्रले हात पारेको छ । यस्तै उत्कृष्ट बजार प्रतिनिधिको पुरस्कार मेनुका खनाल र लक्ष्मी अधिकारीले पाए ।कार्यक्रम संस्थाका सचिव महेश रेग्मीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.