प्रकाश बन्जारा ।
इटहरी । कारागार भन्ने वित्तिकै अपराधिक गतिविधिमा संलग्न भएकाहरुको सजाय भोग्ने ठाउँ बुझिन्छ । पूर्वाञ्चल क्षेत्रिय कारागारको रुपमा चिनिएको झुम्का कारागार देशको केन्द्रिय कारागार पछिको दोस्रो ठुलो र सुविधा सम्पन्न कारागारको रुपमा चिनिन्छ ।
कारागारमा कस्तोमा कति क्षमता हुन्छ भन्ने कुनै मापक यन्त्र अर्थात मापदण्ड नभएपनि झुम्का कारागार १ हजार ५ सय देखि १ हजार ६ सय सम्म कैदी बन्दी राम्रोसँग बस्ने क्षमता रहेको यहाँका जेलर अर्थात नेपाल सरकारका उपसचिव भिम प्रसाद भट्टराई बताउँछन् ।
असोज ८ गते सोमबारसम्मको रेकर्ड अनुसार झुम्का कारागारमा १ हजार ५ सय ७९ जना कैदी बन्दी राखिएका छन् । कमजोर र जिर्ण बन्दै गरेको भौतिक संरचनामा पन्ध्र सय बढी कैदी बन्दीको सुरक्षाका लागि तीन घेरे सुरक्षा संयन्त्र खडा गरिएको छ ।
सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी छन् भने पेरिमिटर सुरक्षाका लागि ४० जना शसस्त्र प्रहरी सहित १८ जना जनपद प्रहरी रहेका छन् भने जेलभित्र कैदी बन्दीको आफ्नो सुरक्षा संयन्त्र र सुरक्षा घेरा रहने गरेको छ ।
३ बिघा ७ कठ्ठा जग्गामा फैलिएको झुम्का कारागार कोशी प्रदेशकै सुगम र स्वास्थ्यको हिसावले हस्पिटल लैजान नजिकै भएको हुँदा दुर्गमबाट यहाँको कारागारमा जेल भुक्तान गर्न आउने र पठाइने चलन पनि प्रशस्त रहेको प्रशासन प्रमुख बताउँछन् ।
यहाँको सुविधा र सुगमता देखेर सरुवा भएरै पनि कैदी बन्दिहरु झुम्का कारागारमा आउने गरेको झुम्का कारागार सेक्सन ए का चौकीदारले बेष्ट सञ्चारलाई सुनाए ।
कारागारभित्र कैदी बन्दीलाई सिपमुलक तालिम, समय समयमा स्वास्थ्य चेकजाँच, खेल तथा मनोरञ्जनका लागि भलिबल, फुटबल, टेवल टेनिस , पुल, क्यारमबोर्ड रहेको र सबैलाई खेल तथा मनोरञ्जनमा जान खुल्ला रहेको चौकीदारको भनाई छ ।
कैदी बन्दी र सुरक्षाकर्मी बिचको सम्बन्ध भाइचाराकै रहने साथै सुरक्षा संवेदनशीलतालाई आफुहरुले नजिकैबाट नियालेर विशेष सुरक्षा योजना अनुरुप काम गरिरहेको शसस्त्र प्रहरीका डिएसपी झुम्का कारागारका शसस्त्र प्रहरी प्रमुख बलराम प्रसाई बताउँछन् ।
कारागारको पेरिमिटर बाल पुरानो भएको साथै जस्तापाता पनि जिर्ण बन्दै गएकाले पानी चुहिने समस्या हुने गरेको कारागार प्रशासनको भनाई छ । जिर्ण संरचनाका कारण सुरक्षा चुनौति समेत थपिने डिएसपी प्रसाई बताउँछन् ।
‘जिर्ण बन्दै गएको संरचनाका कारण सुरक्षा चुनौती थपिन सक्ने डर छ तर अहिले त्यस्तो भइहाल्ने अवस्था भने छैन हामी सजग भएरै काम गरिरहेका छौँ ।’ डिएसपी प्रसाईले थपे ।
कारागारमा केदि बन्दिहरुको आफ्नै डाक्टर समेत रहेका छन् । त्यसका अलावा नेपाल सरकारले समेत ३ जना डाक्टर स्वास्थ्य उपचारका लागि राखेका छ । कैदी बन्दी बिरामी परेको अवस्थामा तुरुन्त उपचार पाउने गरी आफुहरुले व्यवस्था गरेको र भित्र उपचार नभए नजिकको सरकारी स्वास्थ्य संस्थामा लैजाने गरेको जेलर बताउँछन् ।
झुम्का कारागारबाट इनरुवा जिल्ला अस्पताल, बिराटनगरको कोशी अस्पताल र धरानको घोपा क्याम्पमा कैदी बन्दीलाई उपचारको लागि लैजाने गरिएको छ । सरकारी स्वास्थ्य संस्थामा लैजाने कानुनी व्यवस्था भएकाले सोहि अनुसार गरिने गरिएको प्रशासन बताउँछ तर घातक रोग लागेमा अथवा परिवारको चाहनामा नीजि स्वास्थ्य संस्थामा गम्भिर रोगको उपचार गराउन चाहेको खण्डमा सो पनि उपलव्ध हुने गरेको छ ।
कारागारको बाह्य प्रशासनमा नेपाल सरकारका २२ जना कर्मचारी उपसचिवको नेतृत्वमा रहेका छन् भने आन्तरिक प्रशासनमा हरेक २५ जना कैदी बन्दीको लागि एक जना चौकीदार र १५ जनामा एक जना नाइके र हरेक १० जना कैदी बन्दी बराबर एक जना सह नाइके चुनिने गरेका छन् ।
आन्तरिक प्रशासनमा नेतृत्व चयनमा चलखेल हुने गरेको सुनिएपछि बेष्ट सञ्चारले जेलरलाई जिज्ञासा राखेको थियो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने छनौट समितिले दरखास्त आव्हान गरेर सर्बसम्मतको नेतृत्वलाई अन्तवार्ताका माध्यमबाट छनौट गरी चौकीदार, नाइके र सह नाइकेको सिफारिस हुने जेलरले बताए । कानुन अनुसार जेलमा रहेका कैदी बन्दिबाटै चुनिने चौकीदार, नाइके र सह नाइकेले क्रमश बार्षिक ७२,६० र ४८ दिन कैद छुट पाउने गरेका छन् ।
कैन्दि बन्दीलाई गुटमा बिभाजन हुन नदिन साथै कोहिबाट पनि शारिरिक तथा मानसिक रुपमा टर्चर नदिन समेत जेल प्रशासन सजग रहेको बताउँछ । चौकिदारहरुले भित्रको अवस्थामा केहि समस्या आउनासाथ प्रशासनमा बताउने र त्यसको निराकरण गरिने कारागार प्रशासनको भनाई छ ।
जेलभित्र कैदी बन्दिहरुले प्रयोग गर्ने टेलिफोन, तथा कैदी बन्दिका लागि राखिएको पसलमा चर्को मुल्य रहने गरेको भन्ने गुनासो पनि आउँछ नि भन्ने प्रश्नमा चौकीदार भन्छन् । ‘बाहिरको भन्दा एक दुई रुपैँया महंगो हुन्छ तर धेरै महंगो भने हुँदैन हामीले पनि त्यहि एक दुई रूपैँयाबाट भित्रको सरसफाई लगायतको धेरै काम गर्ने गरेका छौँ । कुनैबेला कम आर्थिक भएकाहरुलाई सहयोग समेत गर्ने गरेका छौँ । ’
जेलभित्रको महंगी नियन्त्रणमा आफुहरुले समेत बेला बेलामा आन्तरिक प्रशासनलाई निगरानी गर्ने र सुझाव दिने गरेको जेलरको भनाई थियो ।
झुम्का कारागार देशकै दोस्रो ठुलो कारागार भएको र यहाँको सरसफाई लगायत अन्य सुविधा हेरेर कर्णाली प्रदेशबाट समेत कैदीहरु नै सरुवा लिएर यहाँ बस्नका लागि आउने गरेको चौकीदारको दावी छ ।

नेपाल सरकारले कैदी बन्दीको लागि दैनिक ७ सय ग्राम चामल साथै दैनिक ८० रुपैँया खर्च उपलव्ध गराउँदै आएको छ । बन्दीको लागि बार्षिक २ जोर कपडा र प्रत्येक २ बर्षमा एक सेट सिरक डसना दिने गरेको कारागार प्रशासन बताउँछ ।
सरकारी नियम बाहेक कैदी बन्दिका लागि समय समयमा आफुहरुले हेल्थ क्याम्स सञ्चालन गर्ने गरेको साथै सिप मुलक तालिमको लागि सिटिइभिटी तथा योग कक्षाको लागि जिवन विज्ञान सँग समेत समन्वय गर्ने गरेको प्रशासन प्रमुख जेलरले बेष्ट सञ्चारलाई सुनाए ।
उनिहरुको शारिरिक तन्दुरुस्ति देखि लिएर मानव अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुरामा कारागार प्रशासन सजग र सचेत रहेको बताइन्छ ।