झुम्कामा सयुक्त जितिया कार्यक्रमको तयारी सम्पन्न, कसरी मनाइन्छ जितिया पर्व ?

इटहरी । नेपाली थारु तथा मधेसी महिलाको विशेष पर्व जितिया को अवसरमा झुम्कामा एकीकृत जितिया पावैन कार्यक्रमको तयारी पूरा भएको छ ।

थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति, थारु महिला सभा सुनसरी, थारु महिला उत्थान समाज र थारु चलचित्र तथा सांस्कृतिक संघको संयुक्त आयोजनामा रामधुनी १, जितमहान चोकमा हुन लागेको जितिया विशेष कार्यक्रमको तयारी पुरा भएको आयोजकले बताएका हुन।

बिवाहीत थारु तथा मधेसी महिलाले आश्विन कृष्ण पक्षको सप्तमी तिथि देखि सुरु भइ अष्टमीका दिन निराहार व्रत बसेर नहमिका दिन विहान व्रत सम्पन्न गर्ने गरेका छन् । सप्तमीका दिन बिहान व्रतालु महिलाले नजिकैको जलासय, नहर, पैनी तथा खोलामा गएर सामुहिक रुपमा नुहाइ जलाशयको नजिकै भुईमा घिरौलाको पत्ता विछ्याइर सोहि पत्तामाथि माटो राखि सोहि माटोमा तेल, सिन्दुर, पिना, र घिरौलाको फुन चडाई पुजा गरेर सूर्यलाई जल चडाउने गरिन्छ । सोहि दिन दिउसो व्रतालु महिलाहरु कोसेली बनाई माइती जने गर्दछन् । साँझमा दर अर्थात ओडघन खाने गर्दछन्, दरमा खिर दही सहित विभिन्न प्रजातिका तरकारी सहितको भोजन गर्ने गरिएको थारु कल्याणकारिणी रामधुनीकी उपाध्यक्ष सिता थरुनी बताउँछिन् ।

अष्ठमिका दिन बिहानै जलासयमा गई अघिल्ला दिन झैँ पुजा गरी सूर्यलाई जल चडाएर निराहार व्रत बस्ने र दिनमा एउटा सामुहिक सानो पोखरी बनाई गाउँका सबै दिदीबहिनी त्यहि भेला भएर पोखरीमा पुजा गर्ने गर्दछन् । ढाकिमा पानसुपारी चामल, जितिया फुल, तुलसिपत्र सिन्दुर आदि चडाएर सुर्य भगवान र जिमुतवाहन भगवानको पुजा गरि धर्म गुरुबाट कथा श्रवण गर्ने गर्दछन् ।

नहमिका दिन बिहान नुहाएर तुलसी नजिकै दही, चिउरा, अक्षता र साने केराउ चडाएर ५ वटा चामल, ५ वटा केराउ र तुलसिपत्र प्रसादको रुपमा खाएर व्रत समापन गरिने थारु महिला उत्थान समाजका संस्थापक अध्यक्ष समेत रहेकी सीता थरुनीले बताइन ।

आफ्नो सन्तान र श्रीमानको सुख शान्ति एवं दीर्घायुको कामना गर्ने र सन्तान नभएका महिलाले सन्तान प्राप्तिका निमित्त जितिया पर्वमा व्रत बस्ने धार्मिक आस्था रहदै आएको थाकस रामधुनी नगर अध्यक्ष राजकुमार चौधरीले बताए ।

चौधरीका अनुसार जितिया विशेष कार्यक्रममा शनिवार रामधुनीका हरेक टोल बाट व्यानर सहितको झाँकी आउने र थारु संस्कृतिको प्रचारप्रसार गर्दै पुस्तान्तरण गर्ने तयारी गरिएको छ ।

हरेक वर्ष जितिया पर्व मनाइने भए पनि यस वर्ष भने थारु कला तथा संस्कृतिमा चिन्तित संघ तथा संगठनहरुले संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

कार्यक्रममा रामधुनी नगरपालिका लगायत अन्य पालिका बाट पनि व्रतालु तथा शुभचिन्तक  आउने हुदा एक हजार भन्दा बढीको उपस्थित रहने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.