झुम्का । संघीय संसदमा पेश गरिएको निजामति कर्मचारीका सम्बन्धमा बनेको विधयेक स्थानीय तहका कार्यरत कर्मचारी प्रति बेखबर भएको भन्दै राजधानीमा शुरु भएको आन्दोलनको समर्थन रामधुनी नगरपालिकाका कर्मचारीले समेत गरेका छन् ।
बिहिबार नगरपालिकाको सभाहलमा सम्पन्न रामधुनीका कर्मचारीहरुको भेलाले नगरपालिकाको जिन्सी शाखा प्रमुख दुर्गेश विकको संयोजकत्वमा एक संघर्ष समिति समेत गठन गरिएको छ ।
काठमाण्डौ केन्द्रित स्थानीय तहका कर्मचारीहरुको आन्दोलन प्रति समर्थन जनाउँदै गठित संघर्ष समितिका अन्य पदाधिकारीहरुमा सह संयोजकमा दुर्गा सापकोटा र सुवोध निरौला,सचिवमा विरेन्द्र सिग्देल, कोषाध्यक्षमा मन्सा चौधरी, सहसचिवमा तिर्थराज धमला चयन भएका छन् भने सदस्यहरुमा प्रविण शाह, जयराम चौधरी, खगेन्द्र सुव्वा,दीपा श्रेष्ठ र आशा कुमारी चौधरी रहेका छन् ।
बिहिबारको बैठकले काठमाण्डौ केन्द्रित संघर्ष समितीले स्थानीय तहमा घोषित गरेका कार्यक्रमलाई समर्थन गर्दै आन्दोलनका कार्यक्रम गर्दै जाने निर्णय समेत गरेको छ । यस्तै भोली शुक्रबार विहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने र १०ः१५ मा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम तय गरेका छन् ।