बचतमा राखेको ८ लाखलाई बढाउने सपना तुहेपछि इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारीमा ताला

इटहरी । झिनो व्याज लिएर आफ्नो बचत बढेपछि आवश्यकताहरु पुर्ती गर्न भन्दै इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारीमा राखेको नगद आउने अनिश्चित भएपछि इटहरीका शुक्रबहादुर तामांग मंगलबार आत्तिँदै इटहरी उपमहानगरपालिकाको सहकारी शाखामा पुगे ।

सहकारी शाखा जानुपुर्व इलाका प्रहरी कार्यलय इटहरीमा पुगेका तामागलाई निवेदन इलाकाले निवेदन लिन अस्विकार गर्दै सहकारी शाखामा पठाएको थियो । सहकारीले निती र विधि नबुझि बचतकर्ताबाट लिएको पैसा जथाभावि चलाउँदा सहकारी बचतकर्ताको बचत नै फिर्ता नगर्ने अवस्थामा पुगेको निकै भयो तर पनि सर्वसाधारण बचतकर्ताको बचत फिर्ता पाउनुपर्ने आवाजको सुनुवाई सरकारबाट भएको छैन ।

बारम्बार फलोअप गर्दा समेत आफ्नो पैसा फिर्ता दिने सुरसार नदेखेपछि शुक्रबहादुरले मंगलबार सहकारीको कार्यलयमा पुगेर तालाबन्दि गरेका छन् । २ बर्ष अघि २०७८ भदौमा ८ लाख रुपैँया १२ प्रतिशत व्याजदर पाउने आशामा राखेका शुक्रबहादुरको न त व्याज आउने सुर छ न त सावाँ रकमकै टुंगो छ । ताला लगाएर फर्किएपछि समेत संस्थाका संचालकहरुले बचत फिर्ता दिने भरोसिलो खालको जवाफ दिन नसकेको शुक्र बताउँछन् । एकमुस्ट राखेको रकम कहिले र कसरी फिर्ता हुन्छ भन्ने टुंगो नभएको शुक्रले बेष्ट सञ्चारलाई सुनाए ।

सिटी सफारी चलाएर गुजारा गरिरहेका शुक्रले आफुले आर्जेको सारा रकम सहकारीमा राखेर चाहेको समयमा फिर्ता नपाउँदा परिवार चलाउन गाह्रो भएको गुनासो गर्छन ।

प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यलय इनरुवा सुनसरीको नियमन क्षेत्रभित्र रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई इटहरी नगरकै बचतकर्ता डुवेको भन्दै उपमहानगरको सहकारी शाखा र प्रदेश सहकारी रजिष्टारले पटक पटक अनुगमन गरिसकेका छन् । यद्यपि संस्थाले आफ्नो ठोस सम्पत्ति बढी रहेको भन्दै ठोस सम्पत्ति बेचेर बिस्तारै बचतकर्ताको बचत फिर्ता गर्ने बचन दिँदै आएको छ ।

पछिल्लो समय अम्बेले बचत फिर्ता नगरेपछि बचतकर्ताहरू सङ्घर्ष समिति नै बनाएर पुनः आन्दोलनमा गएका छन् । गत साउन २९ गते नै इटहरी उपमहानगरपालिकाको अगुवाइमा अनुगमन गर्दा बचत रकम फिर्ता गर्ने मौखिक प्रतिबद्धता भए पनि बचत रकम नपाएको पीडितहरूको भनाई छ ।

नगरपालिकाले सहकारीलाई नियमविपरित चलेको र कारबाहीका गर्नलाई प्रदेश रजिस्ट्रारमा जानकारी गराईएको बताएको छ । यता सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा पाँच हजार बढी सेवाग्राही मार्कामा परेका छन् ।

अम्बेले बचतकर्ताहरूको ३७ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका बचतकर्ता दुर्गाप्रसाद कोइरालाले बताए । उनले भने, ‘हामी अब आन्दोलन सँगै कानुनी प्रक्रियामा पनि जान्छौँ । हामीले न्याय पाउनु पर्यो बचत फिर्ता रकम हुनु पर्यो।’

संर्घष समितिले गत आइतबार जिल्ला सदरमुकाम इनरुवास्थित प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय घेराउ समेत गरेका थिए । कोशी प्रदेश सहकारी रजिष्टार कार्यलय इनरुवाका प्रमुख हरिवहादुर खत्रीका अनुसार अम्बे कोशीमा थुप्रै बचतकर्ताको बचत डुवेको र त्यसलाई निरन्तर थोरै थोरै गरेर फिर्ता गराउने पहल भइरहेको छ । संचालकसँग ठोस पुँजी रहेपनि एकैचोटी धेरै बचतकर्ता बचतफिर्ता लिन जाँदा समस्या आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.