इटहरी । इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले आफ्नो नियमन क्षेत्रका सहकारी संस्थाहरुलाई साधारणसभाको मिति कम्तीमा ३० दिन अगाडी नै तोकेर सदस्यलाई जानकारी गराउन सचेत गराएको छ ।
सहकारी संस्थाहरुमा भटाभट साधारणसभाको माहौल चलेको बेला शाखाले सदस्यलाई जानकारी नै नदिई साधारणसभा गर्ने विचलन रहेको भन्दै सम्पुर्ण सदस्यलाई जानकारी हुनेगरी मिति तोक्न भनेको हो ।
सहकारी ऐनमा तोकिएको भएपनि कतिपय सहकारी संस्थाहरु आफ्नै ऐन तथा विद्यान समेत नहेरी काम गर्ने गरेको पाइएको अनुगमनमा संलग्न सहकारीका अधिकारीहरुले बताउँदै आएका छन् ।
इटहरी उपमहानगरको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले हस्ताक्षर गरेको जानकारी पत्रमा सहकारी संस्थाहरुलाई अघिल्लो बार्षिक साधारण सभाको निर्णय अनुसार नियुक्ति सिफारिस भएका लेखापरीक्षकलाई असोज मसान्त भित्र अथवा आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिना भित्र लेखापरीक्षण गर्न नियुक्ति गरी नियमानुसार सो को जानकारी सहकारी शाखालाई अनिवार्य जानकारी गराउन समेत सचेत गराइएको छ ।
यस्तै लेखापरीक्षक नियुक्ति गरिएको जानकारी गराउँदा नियुक्ति पत्र, विगत तीन बर्षदेखि नियुक्त गरिएका लेखापरीक्षकको विवरण लगायतका कागजात समेत सहकारी शाखामा बुझाउन भनिएको छ ।
निर्वाचन हुने साधारणसभामा सहकारी संस्थाहरुले निर्वाचन समिति नबनाइएकनै गर्ने गरेको पाइएको भन्दै सहकारी शाखाले अनिवार्य रुपमा निर्वाचन उपसमिति गठन गर्नुपर्ने र उपसमितिले सबै प्रक्रिया पुरा गरी परिणाम घोषणा गरी साधारणसभाबाट प्रमाणित गराउने पर्ने र निर्वाचन समितिको संयोजकले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनुपर्ने व्यवस्था जानकारी गराएको छ ।
हेनुहोस जानकारीको पुरा विवरण