प्रकाश बन्जारा ।
इटहरी । इटहरीमा रहेको पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷८० मा ४ करोड भन्दा बढी सेयर पुँजी थप गरेको छ । गत बर्ष १० करोड ५८ लाख ६८ हजार ८ सय सेयर पुँजी रहेको सहकारीको यो बर्ष सेयर पुँजी बढेर १४ करोड ८३ लाख २८ हजार १ सय पुगेको हो ।
संस्थाको शुक्रबार सम्पन्न २६ औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष दिनेश कुमार भट्टराईले संस्थाले गत आर्थिक बर्षमा १ करोड ४१ लख ५८ हजार ६६९ रुपैँया खुद नाफा कमाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरेका छन ।
आर्थिक बर्ष २०७८÷०७९ मा १ करोड ३४ लाख ८७ हजार खुद नाफा गरेको सहकारीले यस बर्ष ४.९७ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।
१ हजार ६ सय ७९ जना सेयर सदस्य रहेको पूर्वाञ्चल बचत तथा ऋण सहकारीले सेयर सदस्यमा समेत गत बर्षको तुलनामा ६.०९ प्रतिशतले वृद्धि गरेको छ ।
अध्यक्ष भट्टराईद्वारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको कोष हिसाबमा ५३ लाख ७६ हजार ६४९ रूपैँयाको वृद्धि भएको छ भने संस्थाले गत आर्थिक बर्षमा ४० करोड २३ लाख ४१ हजार १९४ रुपैँया बराबर निक्षेप संकलनका गर्दै ५० करोड ५५ लाख ७४ हजार ७११ रुपैँया कर्जा प्रवाह गरेको थियो ।
कर्जा प्रवाह भने गत आर्थिक बर्षको भन्दा ३० लाख ८ हजार २६० रुपैयाँले गिरावट आएको संस्थाले बताएको छ । यद्यपि संस्थाको ऋण असुलीको अवस्था भने सन्तोष जनक रहेको र नाफामा वृद्धि भएको बताएको छ ।
आर्थिक बर्ष २०७९÷०८० मा पूर्वाञ्चल साकोसले ४९ लाख ९५ हजार ८९३ रुपैँया राजश्वमा योगदान गरेको छ । संविधान सभा सदस्य तथा कोशी प्रदेश सभाका सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उत्कृष्ट बचत कर्ताको रुपमा संस्थाकी सदस्य लक्ष्मी ढकाललाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणीतर्फ मोहमद आवस रइम र हिरा कुमारी चौधरीलाई पुरस्कृत गरिएको छ । यस्तै साधारणसभाकै अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीमा कार्यलय सहयोगी सरिता गौतम र उत्कृष्ट बजार प्रतिनिधिको रुपमा लक्ष्मी खत्रीलाई पुरस्कृत गरेको छ ।
यस्तै जेष्ठ सेयर सदस्य सम्मान संस्थाका सदस्य टंकराज दंगालले पाएको छनअ भने महिला तर्फ धर्म कुमारी निरौलाले पाएकी छन । यता उत्कृष्ट अंक ल्याएर कक्षा १२ उत्तिण गर्ने सुन्दरहरैंचा ४ का प्रवेश शर्मा र इटहरी ५ की स्विकृति काफ्लेलाई नगद सहित सम्मान गरिएको छ भने एसईईको परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीमा इटहरी ५ का राहुल शाह र इटहरी ३ की निशा भट्टराईलाई समेत नगद र सम्मानपत्र सहित सम्मान गरिएको छ ।
संस्थाले गत आर्थिक बर्षमा १० जना सेयर सदस्यलाई मृत्यु राहत कोष प्रदान गरेको संस्थाका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक राजु दंगालले लेखामा परिक्षणको क्रममा देखिएका र सुधार गर्नुपर्ने कुरा सुनाए भने सहसचिव गौरीशंकर तमाङ्गले उपस्थित अतिथिलाई स्वागत गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले आर्थिक विकासको मेरुदण्डको रुपमा सहकारीलाई लिइएपनि सरकारले त्यो हिसावले नीति निर्माणको तहमा काम नगरेको बताए । कार्यक्रमको पहिलो सत्र संस्थाका सचिव गणेश कुमार दुलालले संचालन गरेका थिए ।