प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९÷८० मा झण्डै साढे ८ करोडको कारोबार गरेको छ ।
संस्थाको शनिवार सम्पन्न ४६ औँ साधारण सभामा आफ्नो विवरण बाचत गर्दैै संस्थाका संचालक अध्यक्ष खेमनाथ काफ्लेले सहकारीले बिभिन्न कारोबारबाट गत बर्षमा ८ करोड ४७ लाख ९६ हजार ५४९ रूपैँयाको कारबार गरेको बताए ।
१४ लाख ३३ हजार ४८५ रुपैँया खुद नाफा कमाएको सहकारीले दूधबाट मात्रै ४ करोड ३१ लख ८० हजार बराबरको कारोबार गरेको छ भने पशु आहारा, औषधी तथा दुग्ध जन्य पदार्थको ३ करोड ८३ लाख ३६ हजार ९ सय ८ रुपैँया बराबरको कारोबार गरेको छ ।
२ करोड ८८ लाख २८ हजार रुपैँया शेयर पुँजी रहेको ४६ बर्ष पुरानो सहकारीमा ६५७ जना कुल सदस्य रहेका छन् भने जम्मा ३७५ जना सदस्यमात्रै क्रियाशिल रहेको संस्थाले आफ्नो प्रतिवेदन मार्फत बताएको छ ।
कोशी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाबाट बढी दुध खरिद गर्ने उपभोक्ता र बढी दुध बेच्ने किसानलाई समेत सम्मान गरिएको थियो । दिन गन्ती तर्फ बढी दिन दुध उपलव्ध गराउने १९ जना, बढी कारोबार गर्ने १० जना र नियमित दुध बढी खरिद गर्ने ७जना उपभोक्ता समेत सम्मानित भएका छन् ।
संस्थाले कक्षा ११ र १२ तर्फ उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका एकाघरका सदस्यलाई समेत साधारणसभाको अवसरमा सम्मान गरेको छ । ४६ औँ साधारणसभामा अरनीको आवासीय मावि बिराटनगरबाट ३.६६ जिपिए ल्याउने प्रवेश शर्मा र साजिलाल मावि दुलारी बाट २.९२ जिपिए ल्याउने विपुल भण्डारीले सम्मान पाएका छन् ।
यस्तै जेष्ठ सेयर सदस्य सम्मान तर्फ ८३ बर्षिय गोपाल बहादुर थापा र ७६ बर्षिय अनन्त देवी पोखरेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सरकारका कृषि सचिव डा.लेखराज दाहालले सहकारी संस्थाहरुले फजुल खर्च कटौतीमा ध्यान दिनुपर्ने बताएका थिए । उनले बन्द सत्रमा सदस्यहरुले संस्थाले गर्दै आएको फजुल खर्चको बारेमा टिप्पणी गर्नुपर्ने सुझाव राखे भने खादा, माला मायाको चिनो जस्ता कर्ममा खर्च कटौति गर्न सकिने सुझाव दिएका थिए । उनले कतिपय लेखा समिति तथा संचालक समितिले नै ऋण नतिरेको हर्जना समेत बाँकि देखिएको टिप्पणी गर्दै जिम्मेवार पदमा बस्ने सदस्यले संस्थाको ऋण तथा हर्जना जस्ता कुरा बाँकि राख्न नहुने बताए ।
कार्यक्रमको औपचारिक सेसन संस्थाका सचिव राजेन्द्र धमलाले सञ्चालन गरेका थिए । भने कार्यक्रम अध्यक्ष खेमनाथ काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।