इटहरी । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी वडा अध्यक्ष र उच्च तहका कर्मचारी सहित भारत भ्रमणमा गएको भन्दै तिव्र आलोचना भएको छ ।
नगर प्रमुख चौधरी ३ वटा वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, लेखा,योजना र जिन्सी शाखा प्रमुख सहित भारत भ्रमणमा गएर चर्को खर्च गरेको गत शनिवार नेपाल फर्किएका थिए ।
सेप्टेम्बर ८ देखि ११ सम्म भारतको गुजरात स्थित माउन्ट आवको आनन्द सरोवरमा ऊ शान्तिको राजनेता सम्मेलनमा भाग लिने क्रममा नगरप्रमुख सहितको टोली रेलको बाटो हुँदै भारत गएको थियो ।
भ्रमण दलमा नगरप्रमुख शंकरलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, लेखा अधिकृत विरेन्द्र सिग्देल, योजना शाखा प्रमुख सुवोध निरौला, जिन्सी शाखा प्रमुख दुर्गेस विश्वकर्मा साथै वडा नम्बर ३ का अध्यक्ष बुधनारायण चौधरी र वडा नम्बर ५ का अध्यक्ष भोला बास्तोला सहित थिए ।
बुधबार रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको सचिवालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ऊँ शान्तिको राजनेता सम्मेलनमा गएका सवैले आफ्नो आफ्नो नीजि खर्च गरेको भन्दै प्रष्टिकरण गरेको छ ।
भ्रमणका क्रममा भएको खर्च सरकारी नभएको भन्दै सचिवालयले थप जानकारी आवश्यक परे नगरप्रमुखको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।