प्रकाश बन्जारा ।
बेष्ट सञ्चारले सहकारीहरूमा देखिएको विचलनसँग सम्बन्धित रहेर कार्यक्रम गर्ने योजना बनाएको निकै समय भएको थियो । बिषय विज्ञ र अभियान्ता हरुसँग छलफल गर्ने क्रममा सहकारी अभियान्ता गंगा प्रसाद दाहालसँग भेट्यौँ ।
कार्यक्रमको मिति नजिकिँदै जाँदा राजन जी र मलाई एक साँझ गंगा सरले पचरुखीको जेष्ठ नागरिक भवनमा बोलाउनु भयो । झुम्कामा भएको हामि हाँकिएर पचरूखी पुग्यौँ ।
जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी , गंगा प्रसाद दाहाल जो जिल्ला सहकारी संघ सुनसरीको अध्यक्ष हुनुहुन्छ र कर्ण बहादुर कार्की जेष्ठ नागरिक भवनको पहिलो तलामा हुनुहुन्थ्यो ।
केहि बेरको भलाकुसारी पछि योगमाया दिदीले कर्ण बहादुर कार्कीलाई चिनाउँदै भन्नुभयो ‘अव भाइहरूले उहाँको कहानी चाहिँ लेखिदिनु है ८२ बर्षको मान्छे कति मेहनती हुनुहुन्छ ।’ छोटोमा कर्ण बहादुरको विशेषता बुझ्ने उत्सुकता हामीले देखायौँ । ८२ बर्षिया कार्की हरेक विहान ३ बजे पचरूखी जेष्ठ नागरिक भवनमा जिवन विज्ञानको योग चलाउन आइपुग्ने रहेछन् ।
वृद्धहरूको योगदान र पहलमा निर्माण भएको २ तले भवन निकै छनक मिलाएर बनाइएको छ । उक्त भवन निर्माण गर्दै गर्दा पनि निर्माण समितिमा रहेर योगदान दिने कर्ण बहादुर झट्ट हेर्दा ८२ बर्षिय पटक्कै देखिएनन् । भदौ १६ गते तोकिएको हाम्रो कार्यक्रम सकेपछि फुर्सद मिलाएर कर्ण बहादुरलाई भेट्न हामी पुन जेष्ठ नागरिक भवन पचरूखी पुग्यौँ ।
कर्ण बहादुर पनि आफ्नो साथी लौरोलाई अगाडी लगाउँदै आइपुगे । १९९९ सालमा खोटाङ्ग जिल्लाको सोल्मामा जन्मेका कर्ण बहादुरले बुवाको अनुहार ठम्याउन पाएनन् । उनि जन्मेको ६ महिनामै भारत भासिएको उनको बुवा उतै वितेको खवर आयो । घरको कान्छो छोराको रुपमा जन्मेका कर्ण सबैको माया पाएर हुर्किए पढ्न भने पाएनन् । २०१३ सालमा तत्कालिन राजा महेन्द्र त्यताको भ्रमण गएको बेला २ वटा स्कुल बनाउन आदेश दिएका थिए रे त्यसपछि गाउँमा श्रमदानबाट स्कुल तयार भएको थियो तर कर्णबहादुरले आफ्नो पढ्ने उमेर गुमाइसकेका थिए ।
विस्तारै व्यवहारिक बन्नुपर्ने बाध्यता आउँदै थियो पछि उनले अक्षर चिन्ने गरी प्रौढ शिक्षा अध्ययन गरेछन् । मध्यम बर्गिए कार्कीको परिवारलाई खानभने समस्या नभएको कर्ण बहादुरको अनुभव छ । कर्ण बहादुर १४ बर्षको हुँदै गर्दा २०१३ सालमा आमा बित्नु भयो । १५ बर्षको हुँदा कर्णले गाउँमै विवाह गरे ।
कर्ण बहादुरले २०२८ सालमा ६ सय रुपैँया बाकेर सोल्मा छोडेछन् । मितदाईसँग बस्ने सर्तमा मोरङ्गको रमाइलोमा बसाई सरी आएका कर्ण बहादुरको जिन्दगीका बुँदा बुँदा सुनिरहुँ लाग्ने थिए ।
कहिले खेती गर्दै कहिले उकाली ओराली त कहिले भारतमा सुन्तलाको भारी बोक्दै हुर्किएका कर्ण बहादुर छोरालाई जन्मेको बखत माया दिन नपाएकोमा चिन्तित हुन्थे अहिले उनका छोरा पिएचडी सकाएर आरक्षण केन्द्रमा जागिरे रहेछन् ।
श्रीमती बिरामी हुँदा निकै पिडा भोगेका रहेछन् कर्ण बहादुर कुनै लाहुरेले एक पल्ट धरानको घोपामा उपचार गर्न ल्याएको सम्झना कर्ण बहादुरलाई ताजै छ । पाठेघरमा समस्या आएपछि अप्रेसन गरिएको समेत कर्णबहादुरले हामीलाई सुनाउन भ्याए ।
२०४० देखि २०४७ सम्म गाडी चालक बनेर बिताएका कार्कीले त्यतिवेला राम्रै पैसा कमाउन सकेछन् फल स्वरुप इटहरीको पचरुखीमा घडेरी र घर बनाउन सकेका रहेछन् । पछि केहि कमिएपछि घडेरीमा समेत लगानी गर्न भ्याएछन् । जिन्दगी सँधै एकनास नहुने समयले कर्णलाई दोस्रो विवाह समेत गराएको रहेछ तर पनि परिवारमा खासै खटपट नभएको उनले हामीलाई सुनाए ।
अहिले कर्ण बहादुरका २ भाई छोरा एकको बसाई काठमाण्डौ र एक भाई आफु संगै रहेछन् । ‘कान्छो अहिले इटहरीको जनता बहुमुखी क्याम्पस पढ्दैछ। ’ कार्कीले सुनाए ।
दोस्रो विवाह अनि त्यो विवाह पछिको संघर्ष पहिली श्रीमती र छोराको मनमा बिझेको काँडो त्यो उनिहरुलाइमात्रै थाहा छ तर कर्णबहादुरले पनि धेरे थोर महशुस सरको छन् । उनले आफ्नो भोगाई समेटिएको पुस्तक सुन्तलाको भारी हामीलाई दिए । सुन्तलाको भारी पढ्दै गर्दा कतिपटक आँखाहरू टट्टाए कतिपटक पग्लिएर तर पिडा भोग्ने कर्ण बहादुरलाई कति पिडा भयो होला त्यो उनैलाई थाहा छ ।
खोटाङ्ग को खाल्डोमा जन्मिएर हुर्किए पनि कर्ण बहादुरले थुपै्र कमाएका रहेछन् इष्टमित्र र सम्पत्ति पनि । धर्ममा निकै तिव्र झुकाव हामीले कर्ण बहादुरमा भेट्यौँ । समयले नेटो काट्दै गएपछि इटहरी उपमहानगरको पुर्व पट्टि रहेको जेष्ठ नागरिक चौतारीमा भेला हुन लागेका कर्ण बहादुर र पचरुखीबाट त्यहाँ धाउने अरु पाँच छ जनाले पचरुखीमा शाखा ल्याउने सल्लाह गरेछन् ।
जनता बहुमुखी क्याम्पस इटहरी, लक्ष्मी नारायण मन्दिर पचरूखी,कार्की बन्धु कुल मन्दिर जस्ता क्षेत्रमा समेत उल्लेख्य सेवकको रुपमा देखिएका कुल बहादुर समाजसेवीको नाममा समेत निकै परिचित नाम हो । पचरुखिकै खेमराज अधिकारी, नन्दिकेशर दलालसँगको सहकार्यमा पचरुखीमा जेष्ठ नागरिक समाज पचरूखी गठन गरिएको रहेछ गठन हुँदाको बखत कर्णबहादुर उपाध्यक्ष थिए अहिले सोहि संस्थाको अध्यक्ष छन् ।
उनीहरुकै सक्रियतामा २०७१ सालमा पण्डित योगेश भण्डारीलाई बोलाएर सप्ताह पुराण लगाएपछि मन्दिरका लागि झण्डै ९० लाखको सहयोग रकम बोलिएको थियो पछि ३० लाख रुपैँया उठ्यो त्यहीबाट संस्थाले आफ्नो भवन बनाएको छ ।
हेर्दा प्रौढ देखिएपनि कर्ण बहादुरको दैनिकी गज्जबको छ । उनि विहान ३ बजे जेष्ठ नागरिक भवनको गेट खोलेर पुजा गर्न आइपुग्छन् । उक्त भवनमा जिवन विज्ञानको योग दैनिक चल्ने गर्छ थोरैमा ३० जनादेखि लिएर ६० जनासम्म जेष्ठ नागरिकहरु योगको लागि दैनिक उक्त भवनमा आउने गरेको कर्णबहादुरले सुनाए ।
समय अनुसार परिस्कृत हुँदै जान कर्ण बहादुरको युवा जमातलाई सुझाव छ । सकुञ्जेल अध्ययन गर्न र मौका मिल्नासाथ सामाजिक सेवामा लाग्न कर्ण बहादुरले हामीलाई सुझाव दिए । दिन ढल्दै जाँदा उनको पुस्तक सुन्तला भारी लिएर हामी छुट्टियौँ र मैले कर्ण बहादुरको यो कथा बुन्ने प्रयास गरेँ ।