इटहरी । खेलकुदको बिकास र प्रबर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेड विच खेलकुद टिमको प्रायोजन सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेडको तर्फबाट प्रोप्राईटर दिपक काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
१ बर्ष अवधीको सम्झौता अनुसार कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद टिमहरुको प्रायोजन उक्त कम्पनीले गर्नेछ । यसका साथै खेलकुद सम्बन्धी आवश्यक समान खरिदको लागी कम्पनीले आवश्यक रकम उपलब्ध गराउने छ भने कोशी प्रदेश प्रहरी क्लबका खेलाडीहरुले सम्झौता अवधीभर कम्पनीको लोगो अंकित जर्सी लगाएर सबै स्तरका खेलमा खेल्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौता कार्यक्रममा खेलाडीहरुले प्रयोग गर्ने जर्सी कम्पनीका अध्यक्ष र प्रदेश प्रहरी प्रमुखले संयुक्त रुपमा सार्वजानिक गरेका छन् । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष दिपक काफ्लेले सम्झौतामा उल्लेख भएअनुसार कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सबै प्रकारका सामग्रीहरु समयमै उपलब्ध गराउने र सहकार्य निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कम्पनीलाई हार्दिक आभार प्रकट गरे ।
उक्त कर्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरु, कम्पनीका अन्य पदाधीकारीहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो ।