स्थानीय तहमै रोजगारी सिर्जना गर्ने भोक मेटाउन युवाहरुको सहकारी मोह, फस्टाउँदै इटहरीको सनेस कृषि सहकारी

प्रकाश बन्जारा र राजन भट्टराई ।

देश दुख्दा संगै दुख्ने र हाँस्दा रमाउने युवाको भिडमा पर्छन इटहरी १८ का राजदेव चौधरी । सहकारी संस्थाको माध्यमबाट धेरै भन्दा धेरै सदस्यलाई कृषि गर्न प्रेरित गर्ने र रोजगारी सृजना गर्ने राजदेव जस्तै युवाको सपनामा जन्मेको सनेस कृषि सहकारी संस्थाको संचालक अध्यक्ष समेत रहेका राजदेव जोशिला युवा हुन ।

धेरै युवाहरु देशमा अल्झिनै चाहँदैनन् । केहि गर्न खोज्यो कि तह तहमा हुने झमेला र एकले अर्कोको खुट्टा तान्ने प्रवृति जो मौलाएको छ यसले पनि केहि गरौँ भन्ने युवालाई निराशा र वितृष्णा बाहेक केहि दिएको छैन । यस्तै कुरा लागु हुन्छ सनेस कृषि सहकारीमा पनि ।

विश्व व्यापी कोरोना महामारी हाम्रो देशमा पस्दै गर्दा दर्ता भएको सनेस कृषि सहकारीमा पनि जोशिला युवाहरु केहि विदेश गइसके भएका पनि कोहि तयारीमा छन् त कोहि भने संस्था चलाउनु पर्छ सहका रीताको माध्यमबाट आँट गरियो भने असम्भव हरु पनि सम्भव हुन्छन् भनेर लागिपरेका छन् ।

३० जना स्थानीय युवाले जनही ५ हजार रुपैँया संकलन गरेर २०७६ साल चैत्र १० गते दर्ता गराएको सनेस कृषि सहकारी अहिले इटहरी १८ का धेरै किसानको चौतारी बनेको छ ।

बाउ बाजेले गरिआएको परापूर्व तरिकाको कृषि उत्पादनलाई आधुनिकीकरण तर्फ लैजाने उदेश्यका साथ जन्मिएको सनेसले कोरोनाको ठुलो धक्का पायो तर पनि विचलित नभई कृषिको सवलिकरणका लागि जुटिरहेको छ ।

कुनै बेला सनेसले आफ्नो कार्यक्षेत्रलाई ख्याल नगर्दा इनरुवाको चाँद बेलामा लसुन खेती गर्न पुगेको थियो । तर पछि त्यो प्रोजेक्ट सफल हुन सकेन । कार्यक्षेत्र भन्दा बाहिर भएको हुनाले उनीहरुले आफ्नै कार्यक्षेत्रमा गर्नुपर्ने भयो । २६५ जना सदस्य रहेको सनेसले इटहरी १८ मा तरकारी खेती गर्न थालेको थियो ।

बजार मुल्य १७० पर्ने तरकारी बिचौलियाले उनीहरुसँग १०० रुपैँया केजीमा किनेर तत्कालै १७० मा उपभोक्तालाई बेच्न थाल्यो त्यो कतिपय सनेसका सदस्यलाई मन परेको थिएन । आफुले उत्पादन गरेको तरकारीको बजारीकरण नभएकोमा उनीहरु चिन्तित त छँदै थिए यता कम मूल्यमै बेच्नुपर्ने बाध्यता पनि रुमलिएको थियो ।

आखिर आफुले र सदस्यले उत्पादन गरेको तरकारी आफैँ किन बजारीकरण नगर्ने भन्ने सोचेर उनीहरुले सनेस एग्रो मार्टको परिकल्पना गरे ।
अहिले पनि सनेशको कार्यलय अगाडी एग्रो मार्ट सञ्चालनमा छ । जहाँ सनेसकै सदस्यले उत्पादन गरेका र केहि बाहिरबाट आएका तरकारी उपभोक्तालाई सुपथ मुल्यमा उपलव्ध गराइन्छ । अहिले त्यहि तरकारी बजारले सनेसको साँखलाई जोगाउने काम गरेको संचालक अध्यक्ष राजदेव चौधरी बताउँछन् ।

तरकारी उत्पादन गरेर तरकारी बजार सम्म ल्याउने सदस्यको पैसा सहकारीकै खातामा जम्मा हुन्छ उनीहरु आवश्यक परेको बेला संस्थामा आएर झिक्छन् र आफ्नो गल्जो टार्छन ।

सुनसरी सदरमुकाम इनरुवामा रहेको तरकारी बजारसँग दैनिक दरभाउ बुझेर सोहि अनुसार बिक्रि गर्ने गरेको सनेसले बताएको छ । यद्यपि तरकारीको भाउ तोकिएको मुल्यमा अडिग नहुने तरकारीको माग अनुसार घटबढ हुने अध्यक्ष चौधरी स्वीकार गर्छन ।

२६ लाख ९३ हजारको सेयर पुँजी रहेको संस्था सनेसले प्रत्यक्ष रुपमा ४ जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा थुप्रै किसान तथा आफ्ना सदस्यलाई सेवा प्रवाह गरिरहेको सनेसका सदस्य संस्थाबाट सन्तुष्ट रहेको संस्थाको दावी छ ।

कुनै समय बैँकका जागिरे राजदेव आफैँ संस्थालाई राम्रो गतिमा दौडाउन भनेर जागिर छोडेर होमिएका छन् । आफ्ना सदस्यलाई व्यावसायीक कृषिमा लगाउन सनेसले मल, बिउका साथै कृषि औजार समेत सहुलियतमा उपलव्ध गराइरहेको छ ।

ठुलो मात्रामा धान खेती हुने इटहरी १८ का किसानलाई राहत दिन केहि योजना बनाइरहेको अध्यक्ष चौधरीले सुनाए । हाम्रो क्षेत्रका किसान आफ्नो अभाव टार्न बोटमै भएको धानलाई कम मुल्यमा साहुलाई सुम्पिन बाध्य छन् त्यो अभाव सहकारी संस्थाबाट ऋण दिएर टार्ने गरी सदस्य विस्तार गर्ने र उनीहरुले उत्पादन गरेको धान खरिद गरेर चामलको रुपमा बेच्ने योजना रहेको राज देवले सुनाए ।

सनेस स्थापनाकालमा २० बर्ष देखि ३० बर्ष उमेरका युवाहरु सदस्य थिए । ‘स्थापनाको बेला आएका सवै अहिले संस्थामा छैनन् कतिपय पदको लोभमा आए कति धनको लोभका त कति बिविध स्वार्थमा तर संस्थामा संघर्ष गर्न पर्ने देखेपछि विस्तारै टारिँदै गए कतिपयले रोजगारी पाए कति विदेश गए ।’राजदेव सुनाउँछन् ।

सनेसले निकट भविश्यमा कृषिमा कसरी औद्योगिकरण गर्न सकिन्छ भनेर सोच्न थालेको छ । आफ्नो आसपास एउटा सेलर मिल साथै च्याउ उत्पादनमा केहि गर्न सकिन्छ भनेर परिक्षण गरिरहेका छौँ । कृषि सहकारीमा सुन्दा राम्रो लाग्ने तर व्यवहारमा निकै गाह्रा कामहरु छन् मध्यम बर्गिय परिवारमा आम्दानीको स्रोत हुँदैन त्यसैले लगानी गर्न निकै गाह्रो छ मिठा कुरा धेरैले गर्छन तर सहयोग गर्ने कम हुन्छन् । राज देवले हामीसँग गुनासो गरे ।

युवाहरुले मिलेर सम्भावना सहित सञ्चालन गरेको सनेस अन्य धेरै कुरामा कस्तो अवस्थामा छ हामीले विश्लेषण गरेनौँ तर सनेसले सञ्चालन गरेको सनेस कृषि मार्ट एउटा राम्रो सुरुवात हो जहाँ किसानले उत्पादन गरेको तरकारी खरिद गरिन्छ र उपभोक्तालाई सहज र सुलभ मुल्यमा बिक्रि गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.