इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लाइ सर्बोच्च अदालतको फैसलाले पदमुक्त गरेको छ । अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो । मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए ।
उपसभामुख बिरामी परेको भन्दै ज्येष्ठ सदस्यका लागि बैठक राख्न आग्रह गरेको अवस्थामा ज्येष्ठ सदस्यले मतदान गरेपछि विवाद भएको थियो । सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए ।
सदस्यहरूले मत दिएपछि सच्याउने सूचना दिँदै सभाको अध्यक्षता गरेका मन्सुरीले समेत मत दिएका थिए । पहिले मत दिएका सदस्यले मत सच्याउन पाउने समयमा मन्सुरीले मत दिएका थिए । त्यसपछि नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।
एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटउपर अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले थापालाई मुख्यमन्त्रीबाट अपदस्थ गरिदिएको हो । उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गते कोसी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।