इटहरी । इटहरीको बालाजी ज्येष्ठ नागरिक समाजले सिलोक, संगिनी र बिरहन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
इटहरीमा नगरस्तरीय ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव २०८० नाम दिइएको उक्त प्रतियोगितामा जेष्ठ नागरिकहरुले सहभागिता जनाउने र उत्कृष्ट ३ प्रतियोगी समुहले पुरस्कार समेत पाउने भएका छन् ।
कोसी प्रदेशमै पहिलो पटक यो खालको प्रतियोगिता आयोजना गर्न लागेको आयोजक बालाजी ज्येष्ठ नागरिक समाज इटहरीले दावी गरेको छ
लोपोन्मुख सांस्कृतिक गीत तथा नृत्य प्रतियोगिताका साथ आयोजना गर्न लागिएको सो सांस्कृतिक उत्सवमा इटहरीका १५ वटा वडाबाट समूहगत रूपमा प्रतिस्पर्धीहरु सहभागी हुनेछन् ।
‘ज्येष्ठ नागरिकका अन्तर्हृदयको झङ्कार, नयाँ पुस्तालाई वरद् उपहार’ नारा तय गरिएको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव २०८० बारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक कृष्ण विनोद लम्सालले उत्सवमा नेपाली लोकसंस्कृतिअन्तर्गतको लोपोन्मुख सङ्गिनी र सिलोक तथा थारु जातिको गीत–नृत्यसहितको विरहन विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिताको अडिसन अर्थात छनौट आगामी शनिवार लायन्स क्लव भवनमा गरिने भएको छ भने छनोट भएका प्रतिस्पर्धीलाई भदौ ३० गते बालग्राम चोकमा विशेष समारोह आयोजना गरी पुरस्कृत गरिने छ । प्रतिभा छनोटका दिन अप्रतियोगी सामूहिक खैँजडी भजनलगायत प्रस्तुति समावेश गरिएको छ ।
आयोजक समितिमा नरेन्द्र प्रसाद धिताल, दीनानाथ पौडेल, तारादेवी कार्की, शकुन्तला नेपाल, धनबहादुर कार्की र दिलकुमारी गुरुङलगायत छन् । उत्सव सम्पन्न गर्न हेमबहादुर कार्कीको संयोजकत्वमा चार सदस्यीय आर्थिक उपसमिति र देवीप्रसाद लुइँटेलको संयोजकत्वमा सात सदस्यीय सांस्कृतिक उपसमिति पनि गठन गरिएको छ ।
चौतारी, समाज, मञ्च आदि विभिन्न नामले नगरका २० वटै वडामा समूह बनाई विविध गतिविधिहरू गर्दै आएका जेष्ठ नागरिकलाई एकै मन्चमा ल्यान पनि प्रतियोगिताले भुमिका खेल्ने आयोजकको विश्वास छ । एक–सूत्रमा सङ्गठित तथा ज्येष्ठ नागरिकसँगै मासिएर जान लागेका संस्कृतिक प्रस्तुतिहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो उत्सव आयोजना गर्न लागिएको हो ।
उत्सवमा १४ वडाका १४ समूहबाट ७७ जना ज्येष्ठ महिलाले सङ्गीनीमा तथा २५ जना ज्येष्ठ पुरुषले सिलोक विधामा प्रतिस्पर्धा गर्नेछन् भने विरहन प्रतिस्पर्धामा १० वडाका १० समूहका २५ जना महिला र एक पुरुष गरी २६ जना ज्येष्ठ प्रतिभाले भाग लिनेछन् । प्रतिस्पर्धीको छनोट हरिबहादुर खत्री, सोमन चौधरी, कृष्ण विनोद लम्साल, कविता केसरी रहेको निर्णायक समितिले गर्नेछ ।
उत्सव अन्तर्गत तीनवटै विधामा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुनेलाई एक हजार पाँच सय नगद तथा प्रमाणपत्र दिइनेछ ।