इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा गर्ने जनाएसँगै बिहानैदेखि धरान जाने सवारी साधन तरहराको पानीपियामा रोकिएका छन् । निषेधाज्ञाको बोर्ड सहित प्रशासनले बाक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोली परिचालन गरेको छ ।
इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सवारी साधन रोकिएको छ ।
प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको जनाएको छ । काठमाडौँसहित, झापाको बिर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङतिरबाट आउने सवारी साधन पनि ठप्प भएका छन् । यस्तै, विराटनगरसहित स्थानीय लोकल बससहित विभिन्न अत्यावश्यक सवारी साधनलाई पनि प्रहरीले तरहराबाटै फर्काएको छ ।
प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका वडा नं। १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको वडा नं। ६ देखि बराहक्षेत्र ३ नडाहातर्फको क्षेत्र, इटहरी २० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान ५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको छ ।
जसकारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन् ।
उता, उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् भने मोरङको केराबारी क्षेत्रबाट आउनेहरू उतै रोकिएका छन् ।
खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते आज हिन्दुवादीहरूले शान्तिपूर्ण ¥याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो ।
शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन् । धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले शउक्त आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।