इनरुवा । ३ खम्बे अर्थनीति अन्तर्गत विकासको एक खम्बाको रुपमा चिनिएका सहकारी संस्थाको अनुगमन तथा निरिक्षण गर्ने निकायको रुपमा चिनिएको सुनसरीको जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकासँग सहकारी हेर्ने निकाय कमजोर भएको पाइएको छ ।
नगरपालिकाले सहकारी सम्बन्धि चासो नदिँदा नगर स्तरका सहकारीमा के कस्तो अवस्था छ , कसरी कारोबार भइरहेको छ सर्वसाधारण बचत कर्ता तथा सदस्यले गरेको बचतको अवस्था के छ भनेर हेर्ने निकाय नगरपालिकाको सहकारी शाखा नै व्यवस्थित नभएको पाइएको हो ।
स्थानीय सरकारको चासो बाहिर सहकारी पर्दा समस्या निम्तिने खतरा बढेको हो ।
झण्डै डेढ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको नगरपालिकामा सहकारी शाखा हेर्ने जिम्मा आर्थिक विकास शाखाका प्रमुख जिवन प्रसाद भट्टराईलाई दिइएको भएपनि थमौती गरिएको शाखाको काम प्रभावकारी नभएको भट्टराई आफैँ स्वीकार गर्छन ।
नगरक्षेत्रको नियमनभित्र ७० वटा सहकारी संस्था रहेको भएपनि जम्मा २५ वटा सहकारी संस्थाले मात्रै कोपोमिसको युजर आईडि लिएको भएपनि आधाउधिले मात्रै मासिक , चौमासिक तथा अन्य विवरण कोपोमिसमा हाल्ने गरेको र अन्य सहकारीले त्यो समेत नगर्ने गरेको भट्टराईले सुनाए ।
नगरको नियमन क्षेत्रका सहकारीको डेटा समेत सहकारी शाखासँग नभएको पाइएको छ । बेष्ट सञ्चारसँगको कुराकानीमा भट्टराईले आफु हालै सहकारी शाखाको जिम्मेवारीमा आएको भएपनि आफु आउनु अघि समेत सहकारीहरूको डेटा नभएको बताए । “अव हामी चाँडै अनुगमन गर्ने व्यवस्था मिलाउँदैछौँ ” उनले भने ।
यता प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यलय इनरुवाका सहकारी अधिकृत मनोज कार्कीका अनुसार स्थानीय तहका सहकारी शाखाका कर्मचारीलाई तालिम दिइएको भएपनि भनेअनुरुप नियमन र निरीक्षणको काम नहुँदा बचत कर्ताको बचत जोखिममा पर्न सक्ने बताए ।