इटहरी । अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई बेच्दै आएको डरलाग्दो तथ्य बिराटनगरमा खुलेको छ।
हिजोमात्र सार्वजनिक भएको अविवाहित जोडिको बच्चा हराएको प्रकरण कोट्याउदै लैजादा प्रहरीले मानव बेच बिखन पत्ता लगाएको हो ।
गत साउन १४ गते विराटनगर–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता भएपछि घटना बाहिरिएको थियो।
बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको उजुरी आधारमा ग्रीनक्रस अस्पतालमा पनि कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर तापेश्वरलाल कर्ण र बच्चाका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
कर्ण कोशी अस्पतालमा समेत काम गर्थे भने कुनै समय सोहि हस्पिटलका मेसु समेत थिए ।
ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुको व्यवस्थापनका नाममा तिनका अविवाहित अविभावकबाट समेत ३५ हजार रुपैयाँ लिएर नि:सन्तान दम्पतीलाई बेचेको आरोपमा प्रहरीले डा. कर्णलाई गत शुक्रबार नियन्त्रणमा लिएको हो।
डा. कर्णको नाममा किटानी जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनी अचानक बिरामी भएको बाहना गरेर कोशी अस्पतालमा भर्ना भएका छन्।
कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।