प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले नगरपालिका नियमन क्षेत्रको हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरेको छ ।
जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल सहित उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेल सहितको टोलीले सहकारी संस्थाको बचत, ऋण, कारोबार साथै सञ्चालक, लेखा र ऋण समितिका पदाधिकारी लगायतका फायलको निरिक्षण गरेको थियो ।
अनुगमनको क्रममा सहकारी संस्थाका लेखा समिति तथा सञ्चालक समितिका पदाधिकारी नै सहकारीको कार्यक्षेत्र भन्दा बाहिरका पाइएको अनुगमन अधिकारीले बताएका छन् ।
हलेसी साकोसलाई गत आर्थिक बर्षमा पनि इटहरी उपमहानगरको सहकारी शाखाले अनुगमन गरेको थियो भने दोस्रो अनुगमनका क्रममा समेत सहकारीमा अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको भेटिएको छ ।
सहकारीले कार्यलय व्यवस्थापनका फर्निचर, डेकोरेसन लगायतका क्षेत्रमा बढी खर्च गरेको साथै बचत संकलनको तुलनामा ऋण लगानी कमजोर पाइएको थियो ।
पछिल्लो समयमा इटहरी उपमहानगरले सहकारी संस्थाहरुमा अनुगमन तिब्र पारेको छ ।