इटहरी उपमहानगरले पास गरेको कर घटाउन पुर्व उपमेयरको सुझाव, मेयरले सुझाव पत्र लिन मानेनन् , उपमेयरलाई बुझाइयो

इटहरी । इटहरी उपमहानगरकी पुर्व उपमेयर लक्ष्मी गौतमले उपमहानगरले वृद्धि गरेको कर तथा दस्तुर घटाउन इटहरी सरकारलाई सुझाव दिएकी छन् ।

आइतबार सुझाव पत्र सहित उपमहानगरको नगरप्रमुख कार्यकक्षमा पुगेकी गौतमको सुझाव पत्र मेयर हेम कर्ण पौडेलले लिन अस्वीकार गरेपछि उपमेयर संगीता कुमारी चौधरीले लिएकी थिइन ।

इटहरीकी पुर्व उपमेयर लक्ष्मी गौतमले कर तथा दस्तुर समायोजनको लागि आफ्नो सुझाव पढेर सुनाएपछि सुझावमा प्रयोग गरिएको भाषाको कारण देखाउँदै मेयरले लिन अस्वीकार गरेका थिए । मेयरले लिन नमानेपछि उपमेयर संगीता चौधरीलाई सो विषयमा उनले बुँदागत सुझाव दिएकी हुन् ।

उनले कर तथा दस्तुरको वृद्धि अस्वभाविक र जनविरोधी रहेको बताउँदै तत्काल समायोजन गर्न सुझाव दिएकी छिन् । उनले आम्दानीको साटो सम्पत्तिमा कर लगाउनु उचित नहुनेसमेत बताएकी छिन् । उनले उपमहानगरपालिकालाई अनावश्यक कर्मचारी कटौती गर्न र इन्धन खर्च घटाउनसमेत सुझाव दिएकी छिन् ।

उपमेयरको संयोजकत्वमा हुने राजस्व परामर्श समितिको सिफारिसको आधारमा उपमहानगरपालिकाले कर बढाएको भन्दै विरोध चर्किएपछि उनले आफ्ना सुझावसहितको पत्र हस्तान्तरण गरेकी हुन् ।

सुझावमा सम्पत्ती कर, मालपोत तथा भुमिकर एवं सिफारिस दस्तुरमा गरिएको अस्वभाविक, अव्यवहारिक भएको भन्दै तत्काल समायोजन गर्न सुझाव छ भने राजश्व, कर वा शुल्क निर्धारण सम्बन्धी स्थानीय वा राष्ट्रिय मान्यता र सिद्धान्तलाई अवलम्बन गर्न आग्रह गरिएको छ ।
त्यस्तै आय र कारोबारमा आधारित कर तथा शुल्क एवं स्थीर पूँजी लगाइने कर बिचको विपन्नतालाई बुझेर कर तथा शुल्क निर्धारण गर्ने परिपाटी स्थापित गरिनुपर्ने भन्दै मालपोत कार्यालयले प्रत्येक बर्ष जग्गाको मुल्यांकन गर्नु अगाडी नगरपालिकासँग लिखित पत्र पठाई लिखित सुझाव माग गर्ने गरेको खुलाएकी छन् ।

नगर प्रमुखले अनावश्यक र अनुचित ढंगले करिब १०० को हाराहारीमा ज्यालादारी कर्मचारी राखेको बताउँदै पुर्व उपमेयर गौतमले मनपरी ढंगले वितरण गरिएको आर्थिक सहायता, इन्धन वितरण भएको भन्दै ध्यानाकर्षण गराएकी छन् ।

गौतमले कार्यपालिका बैठकबाट गठित कार्यदललाई मेयरले सहजीकरण गरि अत्याधिक ढंगले बृद्धि गरिएको राजश्व कर तथा सिफारिस दस्तुर घटाई समायोजन गर्न जोडदार आग्रह गरेकी छन् । अचाक्लि बढाइएको कर घटाउनुको विकल्प नरहेको गौतमले बेष्ट सञ्चारलाई सुनाइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.