आठ बर्ष विदेश बसेर फर्किएपछि कृषिमा लगानी, यसरी बन्यो नामछोर्पा कृषि फर्म यसरी भत्किए सपनाहरू

प्रकाश बन्जारा र राजन भट्टराई ।
इटहरी । हरेक स्टार्टअपमा सफल हुन्छु भन्ने सपना हुन्छ, अनि हुन्छ अठोट र आफैँ प्रति विश्वास । जव सपनाहरू टुट्न थाल्छन् अनि विश्वास पनि मर्दै जान्छ । विस्तारै खण्डहर भएर जान्छ मन ।

खोटाङ्ग जिल्लाको मध्ये वेल्ट बड्कादियाले गाविसको दुम्छामा हुर्किएका नविन राई केहि ‘नविन’ गर्ने सोचमा थिए । सानै देखि देशमै केहि गर्नुपर्छ भन्ने सपना बोकेका उनि समयले साथ नदिँदा कहिले देश कहिले विदेश भइराखे ।
कुनै बेला समयले उनलाई नेपालको शान्ति सुरक्षाको चावि दियो कुनै बेला हरियो पासपोर्ट अनि कुनै बेला सपना दियो र अहिले धोखा दिएको छ ।

हुन त उनले धोखा पाउँछु भनेर सपना देखेका थिएनन् सायद कुनै दोष हुनुपर्छ जसले सफल हुँनै लाग्दा धोखा पाए तर अहिले पनि सपना देख्न भने छाडेका छैनन् ।

५ बर्ष शसस्त्र प्रहरी बलमा जागिर खाएका नविन केहि ‘नविन’ सोच लिएर बैदेशिक रोजगारीको लागि मलेसिया हाँकिएका थिए । मलेसियाको हावापानी र पशुपालनको नविनतम प्रयोगले उनलाई नेपालमा कृषि कर्मको सफल सपना देखाएको थियो । नेपालमा राम्रोसँग बंगुर पालेर मासु उत्पादन गर्न सके सिक्किम र भुटानमा समेत निर्यात गर्न सकिन्छ भनेर मलेसियाबाट आउनासाथ थालेको बंगुर फारामले नविनको ५ लाख जति स्वाहा बनाएको थियो । एक धोखामै पछि नहट्ने उनले थप लगानी गर्ने वातावरण देखेका थिएनन् र केहि कमाई थप गर्ने र पुनः सुरु गर्ने अठोट लिएर बैदेशिक रोजगारीको लागि युएई लागे । युएईको रास अल खेमा आर्मीको लागि गएका नविन भनेको काम नपाएपनि ८ बर्ष युएई बसे । ८ बर्षमा यूएईले उनलाई उर्जा र हौसला दिँदै पुन कृषि कर्ममा लाग्न प्रेरित गरेर विदा गर्यो । अनुभव निकै भएपनि उनको उमेर ढल्किएको थिएन ।

मनमा आँट र ज्यानमा जोश बोकेका नविनले पुन कृषिलाई आफ्नो मुख्य पेशा बनाउने अठोट गरेर त्यसपछि २०७५ सालमा नाम छोर्पा चाम्लिङ बहुउद्देश्यीय कृषि फर्म रामधुनी नगरपालिका वडा नम्बर ३ मा सुरु गरे ।

नविनको सुरुवाती राम्रो भयो । बंगुर त्यो पनि बच्चा उत्पादन गर्ने र तत्काल बेच्ने हिसावले सुरु गरेको फर्मले २ सिजन बच्चा बिक्रि राम्रो भयो । तर उस्तै प्रकृतिका फर्महरु बढ्दै गएपछि बच्चाको बिक्रि घट्न थाल्यो । जतिबेला नविनले सुरु गर्दै थिए त्यतिवेला सिमित फर्म थिए विस्तारै फर्मको संख्या बढ्यो सुरुमा त बच्चा राम्रै बिक्रि भए पछि विस्तारै घट्न थाल्यो । ब

च्चाहरु जाम भएर बसे , दानाको भाउ बढ्दै गयो । त्यसैबेला आएको क्लासिकल स्वायन फ्लुअरले नविनको फर्मबा १३ वटा बंगुरका माउको ज्यान लियो । त्यतिसम्म त ठिकै थियो गत बर्षको पौष ताका एकै चोटी स्वायन फ्लुअरकै कारण फर्ममा १३९ वटा बंगुरहरु मरे ।

२०७ वटा बंगुर भएको खोरबाट १३९ वटा बंगुर स्वाहा भएपछि नवीनलाई ठुलो आघात पर्यो । सरकारको तर्फबाट उनलाई कसैले क्षतिपुर्ति त के सान्त्वना र राहात समेत दिएनन् एउटा मरेपछि राहत दिन्छु भन्दै बिमा गरेको बिमा कम्पनीले समेत झण्डै एक बर्ष बितिसक्दा क्षतिपुर्ति अर्थात बिमाको दावी भुक्तानी दिएको छैन ।

‘ती बंगुर मर्ने बेलामा मैले औषधिमात्र ४५ हजारको खरिद गरेँ नगरको पशुसेवा शाखाले औषधिको खर्च सम्म मिलाउने पहल गर्छु भन्ने आश्वासन दिएको थियो त्यो पनि आशामात्र रहयो ।’ राईले हामीलाई सुनाए ।

बिराटनगरबाट आएको पशुको विज्ञ टोलीले गरेको क्षतिपुर्ति मुल्यांकन अनुसार उनको ३६ लाख बराबरको क्षति भएको रहेछ । आफ्नै मूल्यांकनमा ४५ लाख क्षति भएको नविनको ठहर छ तर बिमा गर भन्ने कम्पनीले अहिले सम्म ४ लाख पनि उपलव्ध गराएको छैन ।
२०७५ सालमा खोर निर्माण र पाठाको खरिद गरेर १७ लाख लगानीमा सुरु गरेको नाम छोर्पा कृषि फर्ममा नविनले २१ कठ्ठा जमिनमा कृषि कर्म गर्दै आएका छन् ।

आफुलाई घाँस तथा अन्य सामाग्री ढुवानी सहज पार्न सिटी सफारी समेत जोडेका नविन आफ्नी जिवन संगिनी सहित फर्मको खट्छन् । यहि कर्मबाट ठुलो नोक्सानी बेहारी सकेका उनि पेशालाई भने निरन्तरता दिने सोचमै छन् । ‘जे हुनु भइहाल्यो अव अनुभवले केहि परिपक्व बनाउँदैछ कस्तो अवस्थामा के गर्ने भनेर समेत ज्ञान बटुलेको छु ।’नविनले हामीलाई सुनाए ।

१३९ वटा बिक्रि गर्न ठिक्क भएको बंगुर लाई एउटै चिहान बनाएर गाड्नु परेपछि प्रताडित बनेका उनीसँग अहिले ४२ वटा मात्रै बंगुर बाँकि छन् । बाँकि भैसी, बाख्रा, कुखुरा, हाँस र माछा समेत पालेका उनि कृषिमा हौसिएर लगानी नगर्न आजका युवालाई सुझाव दिन्छन् ।

आफुले के प्रयोजनको लागि कृषि उत्पादन निकाल्ने हो त्यसको बजार कहाँ व्यवस्थापन हुन सक्छ भन्ने कुराको गहन अध्ययन गरेर आफैँ खट्ने हिसावले मात्रै कृषिमा होमिनु राम्रो भएको राईको सुझाव छ ।

त्यसो त सरकारले केहि गर्छ अथवा कृषिबाट टन्न अनुदान ल्याउँछु भन्ने हिसावले कृषिमा नआउन समेत नविनले बेष्ट सञ्चार मार्फत आग्रह गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.