प्रकाश बन्जारा ।
इटहरी । आर्थिक ऐन मार्फत इटहरी उपमहानगरपालिकाले एकिकृत सम्पत्ति कर सहितका करको ह्वात्तै वृद्धि गरेपछि इटहरी केन्द्रित रहेका दलहरुले असन्तुष्टि जनाएका छन् ।
कर वृद्धि नगर प्रमुखबाट प्रमाणित भई कार्यान्वयन नै भइरहेको अवस्थामा इटहरी सरकारमा ८२ प्रतिशत हिस्सा ओगटेको नेकपा एमाले सहितका दलहरु एक पछि अर्को गर्दै बोल्नुले करमा अस्वभाविक वृद्धि भएकै हो भन्ने प्रमाणित गरेको छ ।
दलहरुले जनताको प्रतिनिधित्व गर्ने भएकाले पनि ग्रामिण भेग सहित भएको कर वृद्धि वैज्ञानिक नभएको तर्क राजनितिक दलहरुको छ ।
आफ्नै दलको बाहुल्यता रहेको नगरसभाबाट पास भएको आर्थिक ऐनमा नेकपा एमाले बिरोध गरेपछि बजारमा नेकपा एमालेको पनि उत्तिकै विरोध भइरहेको छ ।
कर वृद्धिमा नेकपा एमाले लगायतका अन्य जनप्रतिनिधिलाई समेत विधयेक अध्ययन गर्न नदिएको आरोप एमालेले लगाएको छ ।
अस्वभाविक कर वृद्धिमा आफ्नो विरोध सहित ज्ञापन पत्र बुझाउँदै नेकपा एमाले इटहरी उपमहानगर कमिटीले पत्रकार सम्मेलन नै गरेर त्यसको विरोध जनायो ।
मेयरले नगरसभालाई लम्ब्याउँदै अन्तिममा लगेर आर्थिक विधेयक पेश गरेका कारण आफु एक जिम्मेवार दल भएको नाताले त्यसलाई पास गर्नुको विकल्प नभएको तर्क एमालेले पत्रकार सम्मेलन मार्फत अघि सार्यौ यद्यपि जनस्तरबाट विरोध भइसकेपछि मात्रै नेकपा एमालेले पनि करको दर बढेको कुरा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रेवती रमण भण्डारी, पार्टीका जिल्ला उपसचिव राम कोइराला र नगर अध्यक्ष याम कुमार सुव्वा लगायत उपस्थित थिए । नेकपा एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिका तर्फबाट जान अन्जानमा गल्ति भएको भन्दै जनतासँग माफी मागेर अघि बढ्ने बताएको छ ।
यता नेपाली कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ताले भने आफ्नो पार्टीको साख जोगाउनैका लागि भएपनि करको विरोध गरेका छैनन् उनीहरुले जिम्मेवार नागरिकले नगरको विकासका लागि कर तिर्नुपर्ने तर्क राख्दै रुन्चे हाँसो देखाएका छन् ।
नयाँ दलको हैसियत देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार उपमहानगरको गेटमै प्लेकार्ड सहित प्रदर्शन गर्यो । नगरसभाबाट पारित भएको विधेयक अवैज्ञानिक भएको तर्क राष्ट्रिय स्वतन्त्र पार्टीको छ ।बिहिबार मात्रै नेकपा एकिकृत समाजवादीले समेत काइते कर भन्दै मेयरको ध्यानाकर्षण गराएको छ ।
केहि टाठाबाठा ले अन्य जनप्रतिनिधिलाई समेत गुमराहमा राखेर करको अस्वभाविक वृद्धि गराएको नेकपा एकिकृत समाजवादीले ठहर गरेको छ । पार्टीले बिहिबार मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
नेकपा एसका नेता तथा कार्यकर्तालाई मेयर पौडेलले कर नघट्ने जवाफ दिएका छन् । कर वैज्ञानिक रहेको तर्क अघि सार्दै उनले शुक्रबार कार्यपालिका बैठक बोलाएको र कार्यपालिकामा त्यसबारे बहस हुने भन्दै आवश्यक ठानिए एउटा अध्ययन समिति बनाएर अघि बढ्ने छाटो प्रतिक्रिया दिएका छन् । अन्य उपमहानगरको तुलनामा इटहरी उपमहानगरको करको दर बढी नभएको बताउँदै मेयर पौडेलले जनता कर तिर्नमा अभ्यस्त नभएका कारण यस्तो भएको र विस्तारै बानी पर्ने बताएका थिए ।
करको अस्वभाविक वृद्धि भएको भन्दै नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष गणेश बुढाथोकी इन्चार्ज केवल प्रसाद फुयाल र सह इन्चार्ज रमेश खत्री सहितको टोली उपमहानगर पुगेको थियो ।
केन्द्रिय सरकारको बागडोर सम्हालेको र निर्वाचनमा हेमकर्ण पौडेललाई जिताउन समेत गठबन्धनको तर्फबाट भुमिका खेलेको अर्को पार्टी नेकपा माओवादी केन्द्रले करको बारेमा आफ्नो पार्टीले अध्ययन गरिरहेको बताएका छ ।
‘हामीले जिल्लाको मुल्यांकन समितिले गरेको मुल्यांकन र यहाँको वडा वडामा गरिएको जग्गाको मुल्यांकन समेत हेर्दै छौँ त्यसको आधारमा आज र भोली सम्मका निस्कर्षमा पुग्छौँ ।’ नेकपा माओवादी केन्द्र इटहरी नगरकमिटीका अध्यक्ष ज्वाला तामाङ्ग बताउँछन् ।
100%गलत तरीका ले कर लादेको छ 400% कर कुन देश मा बडेको छ कुरा बुझन जरूरी छ जनता ले बुझीसके नेता ले कहिले बुझ्ने हो