इटहरी । इटहरी उपमहानगरपालिकाले अवैज्ञानिक तवरले कर वृद्धि गरेको भन्दै ज्ञापन पत्र बुझाउन उपमहानगर पुगेको नेकपा एकिकृत समाजवादीको नगर कमिटीलाई कर परिवर्तन नहुने जवाफ दिएका छन् ।
नगरपालिकाले एकिकृत सम्पत्ति कर लगायतका आन्तरिक राजश्वका शिर्षकमा मुल्यांकन बढाउँदै कर वृद्धि गरेको झण्डै एक महिना हुन लाग्दा नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगरको टोली बिहिबार ज्ञापन पत्र बुझाउन उपमहानगर पुगेको थियो ।
ध्यानाकर्षण पत्र सहित पुगेको पार्टी कमिटीलाई मेयर पौडेलले कर नघट्ने बरु जनतालाई के कसरी कर निर्धारण गरिएको हो त्यो बुझाउँदै लैजाने बताएका थिए । शुक्रबार कार्यपालिका बैठक बोलाइएको र कार्यपालिकामा करको बिषयमा छलफल हुने र त्यहाँ करको सम्बन्धमा एउटा समिति बनाउने र अवैज्ञानिक भनिएको बिषयको अध्ययन गरिने मेयर पौडेलले बताए
पार्टीको इटहरी उपमहानगर कमिटी इन्चार्ज केवल प्रसाद फुयाल, नगर अध्यक्ष गणेश बुढाथोकी सहित उपमहानगर पुगेको टोलीले ज्ञापन पत्र बाचन गरेर सुनाउँदै नगरप्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता कुमारी चौधरीलाई बुझाएका थिए ।
उपमहानगरले आर्थिक ऐन २०८० अन्तर्गत घुमाउरो पारामा जनप्रतिनिधिलाई समेत गुमराहमा राखेर नीतिगत निर्णय गराउँदै टाठा बाठा जनप्रतिनिधिको मिलेमतोमा कर वृद्धि गरेको नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटीको ठहर छ ।
‘ज्यानमारा करलाई अविलम्व खारेज गरी हचुवाको भरमा वृद्धि गरिएको करलाई पुन निर्धारण गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ ।
करलाई अविलम्ब पुन निर्धारण नगराए पार्टी चरणवद्ध आन्दोलनमा जाने र थप सशक्त बनाउँदै जाने र यसबाट हुने क्षतिको पुर्ण जिम्मेवार उपमहानगरनै हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पार्टीका सह इन्चार्ज रमेश खत्री, सचिव बसन्त कुमार श्रेष्ठ र अध्यक्ष गणेश बुढाथोकीले हस्ताक्षर गरेका छन् ।