झुम्का । ग्रामिण विकासको सिद्धान्त बमोजिम गाउँका किसानलाई उत्पादनमा जोड दिन आग्रह गर्दै विगतका बर्षमा सय भन्दा बढी स्यालो बोरिङ्गको व्यवस्था गरिएको रामधुनी वडा नम्बर ९ ले जनाएको छ ।
६ हजार भन्दा बढी जनसंख्या रहेको रामधुनी ९ को अधिकांश भुभाग कृषिले ओगटेका कारण पनि कृषि उत्पादनमा जोड दिन किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिएको र आगामी दिनमा समेत भौतिक विकास भन्दा किसान मैत्री कार्यक्रममा जोड दिने यहाँका वडा अध्यक्ष घनश्याम चौधरी बताउँछन् ।
वडामा दोस्रो कार्यकाल वडाअध्यक्ष बन्दै गर्दा वडाका किसानलाई सिँचाईको समस्या समाधान गर्न सय भन्दा बढी संख्यामा स्यालो बोरिङ निर्माण गरेको र २ वडा डिप बोरिङ निर्माणाधिन चरणमा रहेको वडा अध्यक्ष चौधरीले बेष्ट सञ्चारलाई सुनाए ।
उत्पादनमा जोड दिन वडाबासि किसानलाई आग्रह गर्ने गरेको बताउँदै चौधरीले बढी भन्दा बढी उत्पादन मुखी तालिम र सिंचाईमा वडाले खर्च गरेको बताउँछन् ।
ग्रामिण भेगमा भौतिक विकास भन्दा पनि समाजिक विकासमा जोड दिनुपर्ने धारणा राख्ने चौधरी भुमि बाँझो नराखौँ भन्ने मान्यता अनुरुप किसानलाई बिउ, मल तथा तालिममा जोड दिएको बताए ।
‘हाम्रा खेतमा कम्तीमा ३ बालि लाग्छन् अहिले खेत हरियो छ मंसिरमा पहेँलो हुन्छ अनि पुन गहुँ तथा तोरी लगाउँछन् हामीले किसानलाई उत्पादनमै जोड दिन भनेका छौँ ’ चौधरी भन्छन् ।
बिगतका बर्षमा आफुले ३५ प्रतिशत भन्दा बढी लगानी कृषिमा लगाएका कारण केहि मात्रामा कृषि क्षेत्र माथि उक्सेको बताउँदै वडा अध्यक्ष चौधरीले कम्तीमा १ बिघामा खेती गर्ने किसानले बर्षमा डेढ २ लाख आम्दानी गर्न सकोस भन्ने सोच राखेको सुनाए ।
जंगलले खासै नछोएका कारणले पनि वडा नम्बर ९ मा पशुपालनमा त्यक्ति किसान नलागेको बताइन्छ ।कल्पना र सोच परिवर्तन गरेर लागे ५ बर्षमा धेरै का मगर्न सकिने बताउने वडा अध्यक्ष चौधरीलाई आफ्नो टिमको भरपुर सहयोग रहेको बुभिन्छ ।
वडा अध्यक्षले बजेट निर्माण, योजना छनौट लगायतका विषयमा आफूहरुसँग परामर्श लिने गरेको वडा सदस्य लाल कुमारी चौधरी बताउँछिन् ।
रातको बेला तथा छुट्टीको बेला समेत वडामा बिभिन्न अवस्था सिर्जना भएको बेला आफुहरु पनि भेला हुने र साथ सहयोग गर्ने वडा सदस्य दिप बहादुर सुनाउँछन् ।
आइतबार बेष्ट सञ्चार वडा कार्यलय पुग्दा वडा ३ वडा सदस्य दिप बहादुर, सरिता सदा र लालकुमारी वडा कार्यालयमै थिए भने भिमा थापा भने बालबालिकाको कार्यक्रममा नगरपालिका तिर थिइन । वडाको विकासका लागि सबै जनप्रतिनिधि एक भएर लागेको उनीहरुले हामीलाई सुनाए ।