इटहरी । एकिकृत सम्पत्ती कर लगायत नगरबासीले तिर्नुपर्ने करमा ठुलो अंकको वृद्धि गरेपछि इटहरी उपमहानगरमा व्यापक विरोध भएको छ ।
नगरसभाबाट पारित भएको आर्थिक ऐनले घरबाटो सिफारिस देखि लिएर नगर तथा वडाबाट दिने सेवाहरुको राजश्वमा भारी वृद्धि गरेपछि इटहरी ४ का युवा सुनिल कार्कीले करको विरोधमा नारा नै सार्वजनिक गरेका छन् ।
कि हाम्रो घरजग्गा किनि देऊ ,कि त हामीले घरजग्गै बेचेर कर तिर्नुपर्ने हो , लु न इटहरी सरकार छिटो भनि देऊ भन्ने नारा मेयर र उपमेयरको मोवाइल म्यासेजमा पठाउन आव्हान गर्दै कार्कीले नगरप्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता चौधरीको मोवाइल नम्बर नै सार्वजनिक गरेका छन् ।
इटहरी उपमहानगरले आर्थिक ऐन मार्फत एकिकृत सम्पत्ती करका साथै इटहरीका जग्गाको मुल्यांकन ३२३ प्रतिशत र सो भन्दा माथि वृद्धि गरेपछि त्यसको व्यापक विरोध भइरहेको छ । गत बर्ष ३ हजार राजश्व तिरेको व्यक्तिले यसपल्ट सोहि प्रयोजनको लागि १६ हजार सम्म राजश्व तिर्नुपरेको रकमको विल नै सामाजिक सञ्जालमा सार्वजनिक गरका थिए ।
करको दर नबढाएको बताउँदै नगरप्रमुख पौडेलले जग्गाको वर्गिकरण पछि आवासियमा बर्गिकृत जग्गाको मुल्यांकन मालपोतले आफैँ बढाइदिएको भन्दै पन्छिएका छन् । मेयर पौडेलले शुक्रबार एउटा कार्यक्रममा आफुले जग्गाको मुल्याकंन नबढाएको प्रस्टोक्ति दिएका थिए ।