समाजसेवामा भिजेका झुम्काका कृष्ण आचार्य जसले अमेरिकामा नेपालकै नामबाट लायन्स क्लव खोले

प्रकाश बन्जारा ।

देशको माया कति हुन्छ भन्ने कुरा प्राय देश भन्दा विदेशमा बस्ने नेपालीलाई सोधे थाहा हुन्छ । देशमा बस्ने प्राय नेपाली युवा देशमा सम्भावनानै नभएको भन्दै विदेशकै बारेमा सोचिरहेको समयमा अमेरिकाको स्थायी बसोबास अनुमति पाएका झुम्काका कृष्ण आचार्य भने नेपालमा प्रशस्त सम्भावना रहेको सुनाउँछन् ।

परिवारिक छुट्टीका लागि मातृभूमि आएका कृष्णसँग हामीले छोटो समय भलाकुसारी गर्ने समय माग्यौँ । आफ्नो व्यस्तताको समय उनले हामीलाई रामधुनी ५ झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा दिन भ्याए । मातृभूमिको मायाले ओतप्रोत हुने कृष्ण बेष्ट सञ्चारसँग यसरी पोखिए जसलाई हामीले जस्ताको तस्तै उठाएर पाठकमाझ पस्किने जमर्को गरेका छौँ ।

कुनै समय देशमै बस्नुपर्छ देशमै केहि गर्नुपर्छ भनेर व्यावसायमा समेत लगानी गरेका आचार्य आज झण्डै १७ बर्षदेखि अमेरिकामा छन् । हुन त त्यतिवेला सम्भावना नदेखेर उनि पलायन भएका होइनन् प्रशस्त सम्भावनाहरु थिए । कृष्णले अंग्रेजी भाषा सिकाउने इन्स्टिच्युट झुम्कामै सन्चालन गरेका थिए ।

२०३२ सालमा स परिवार खोटाङ्ग जिल्लाको दिक्तेलबाट बसाई सरी आएपछि झुम्काको पिप्राहामा कक्षा ५ सम्म र भासि माविमा एसएलसी सम्मको अध्ययन गरेका आचार्य सुनसरी बहुमुखी क्याम्पसबाट स्नातक हुन ।

देशमा माओवादी र सरकारको द्धन्द्ध चल्दै थियो । आशातिर व्यावसाय थिएन तर पनि स्वास्थ्यको क्षेत्रमा थुप्रै कामहरु भएका थिएनन् जतिबेला कृष्णले सुचना तथा परामर्श सेवा केन्द्र नामको गैह्र सरकारी संस्था चलाएका थिए । उनको संस्थाले त्यतिवेला एचआईभी एड्स भएका व्यक्तिहरुलाई परामर्श दिने तथा त्यस्तो रोगबाट बच्न के गर्ने भन्ने बिषयमा सचेतनाका कार्यक्रमहरु गर्ने गरेको थियो ।

कृष्णले सोहि संस्थामार्फत जिल्लाका बिभिन्न ग्रामिण बस्तीमा गएर सचेतनाका कामहरु गरेका थिए । आई सिडी फोर डि कार्यक्रम मार्फत ग्रामिण विकास कार्यक्रम सन्चालन भयो जुन कार्यक्रम दश वटा जिल्लामा चलेको थियो । पछि सोहि कार्यक्रमबाट कृष्णले सयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय स्वयमसेवक सेवा अर्थात इन्टरनेशनल भोलेन्टियर सर्भिस मा सहभागि भएर अमेरिका जाने अवसर प्राप्त गरे ।

६ महिनाको लागि अमेरिका गएका कृष्णले अमेरिकाको हवाई स्थित भल्कानो नेशनल पार्क भन्ने ठाउंमा बसे । पछि न्युयोर्क आए । सामाजिक सेवामा उत्कृष्ट ठहरिएपछि कृष्णले आवेदन दिएको ४५ दिनमै स्थायी आवासको अनुमति पाए अमेरिकामा । गैह्र सरकारी संस्था सहित अंग्रेजी सिकाउने इन्स्टिच्युट नै खोलेर बसेका कृष्णले सामाजिक कामबाटै अमेरिका बस्ने अवसर पाएपछि यता खोलिएको व्यावसाय बन्द भयो । अर्थात एक हिसाबको जीवनको संघर्ष समाप्त भयो तर उता शून्यबाट सुरु गर्नुपर्यो ।

इटहरी स्थित अनाथ आश्रममा सहयोग हस्तान्तरण गर्दै आचार्य

अमेरिकाको जीवनशैली सोचे जत्तिको सहज छैन न त त्यक्ति गाह्रो नै छ । मज्जाले काममा खट्ने व्यक्तिले १ हप्ता काम गर्यो भने १ महिनाको खर्च बनाउँछ तर पैसा पैसा भनेर भाग्नेहरूका लागि भने पारिवारिक मिलन पनि एकदमै कठिन छ अमेरिकामा जुन कृष्णले पनि अनुभव गरेका छन् ।

‘आफुले भएको समयलाई सहि सदुपयोग गरियो भने आफ्नो लागि पनि राम्रो हुन्छ र त्यसमा भगवानले पनि साथ दिन्छन् ।’ कृष्णले हामीलाई सुनाए ।

२००६ मा अमेरिका पुगेका उनको सुरुको समय नयाँ ठाउँमा आफुलाई स्थापित गर्न लगाउनु पर्यो विस्तारै उनले आफनो समय परिवार र समाजलाई दिन थाले । २००८ मा कृष्णको जोडी अमेरिकामै बाँधियो अहिले २ सन्तानका पिता कृष्ण सन्तानको भविश्य र आफ्नो सामाजिक जिवन तिखार्न सक्रिय भएर लागेका छन् ।

कृष्णलाई मातृभूमिको माया कति छ भन्ने उदाहरण उनकै अगुवाईमा अमेरिकाको क्वीन्स भन्ने ठाउंमा स्थापना भएको लायन्स क्लव अफ क्वीन्स बुद्ध हेरे पुग्छ । अमेरिकाका लागि तत्कालिन नेपाली राजदुत अर्जुन कार्की तथा लायन्स क्लव अफ नेपालका तत्कालिन प्रेसिडेन्ट संजय खेतानको उपस्थितिमा उद्घाटन गरेको उक्त लायन्स क्लवले अहिले पनि नेपाललाई प्रतिनिधित्व गरिहेको छ । आफ्नै अध्यक्षतामा स्थापना गरेको उक्त लायन्स क्लवलाई कृष्णले नेपाललाई चिनाउने उदेश्यले बुद्धको नामबाट नामाकरण गरे जसले अहिले त्यहाँका अन्य लायन्स क्लव हरुसँग सहकार्य गरेर बिभिन्न सामाजिक काम गरिरहेको छ । संस्थाको स्थापनासँगै चार्टर प्रेसिडेन्ट भएर २ कार्यकाल रहेका आचार्य विपतको समयमा बेला बेला आफ्नो मातृभूमिका जोडिने गरेका छन् ।

कहिले बाढीको विपतले उनको सहयोगको अपेक्षा गरेको हुन्छ त कहिले अनाथ आश्रम र गरिव वस्तीहरुमा कृष्णको सहयोग पुगिरहेको हुन्छ ।यसपाली पनि उनले इटहरीमा रहेको आश्रमलाई अमेरिकाको संस्था र आफ्नो व्यक्तिगत तवरबाट एक लाख ११ हजार १ सय ११ रुपैँया नगदका साथमा लत्ता कपडा समेत सहयोग गरेका छन् ।

बिभिन्न समयमा स्वास्थ्य जाँच शिविरका साथै अन्य सामाजिक काममा अग्रणी भुमिका कृष्णले निर्वाह गर्ने गरेका छन् नेपालमा बिभिन्न विपन्न बस्तीहरुमा ।

अमेरिकामा रहेको जमैका नेपाली सोसाइटीको दोस्रो कार्यकाल अध्यक्षको भुमिका रहेका कृष्ण नेपालमा प्रशस्त्र पर्यटनका सम्भावना रहेपनि सडक पूर्वाधारहरु सोचे अनुरुप विकास नभएको बताउँछन् । बुद्ध धर्मावलम्बीको लागि चर्चित तीर्थस्थलको रुपमा रहेको लुम्बिनी साथै आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तव्य बन्ने गरेको चितवनको सौराहा लगायतका ठाउँमा समेत जसरी प्रचार गरिन्छ त्यस्तो सुविधा नभएको कृष्णको अनुभवले भन्छ ।

हामीले विदेशी पर्यटकलाई लक्षित गरेर बनाएका पर्यटकिय स्थलमा त पर्यटकले अपेक्षित सुविधा पाएनन् भने उनीहरुले नेपालमा पैसा खर्च गर्ने ठाउँ नै भेट्दैनन् । पर्यटन नेपाल आउने भनेको यहाँको संस्कृती र सभ्यता हेर्न पनि हो । त्यो अहिले लोपोन्मुख अवस्थामा रहेको छ । यसको सरकारी तवरबाटै निराकरण हुनुपर्ने आचार्यको भनाई छ ।

अर्को नेपालले सुधार गर्नुपर्ने पक्ष भनेको लुम्बिनी लगायतका क्षेत्रमा मन्दिर हेर्न र दर्शन गर्ने आउने पर्यटकका लागि दिउँसो १२ देखि १ बजेसम्म मन्दिर नै बन्द गर्ने गरिएको छ त्यसले पर्यटकलाई असर गर्छ । कृष्णले यसको सुधार हुनुपर्ने आफ्नो सुझाव सुनाए ।

हुन त हामीसँग थुप्रै पर्यटकिय सम्भावनाहरु छन् जसलाई व्यावसायीक रुपमा ढालेमात्र धेरै भन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सकिने र मनग्गे आयआर्जन गर्न सकिने आचार्य बताउँछन् ।

अमेरिकामा वकालतको क्षेत्रमा फुल टाइम गर्ने आचार्य होटल तथा हस्पिटालिटी सँग पनि जोडिएका छन् । विश्वप्रसिद्ध होटल चेन इन्टरकन्टिनेन्टलसँग पनि आचार्यको अनुभव जोडिएको छ ।  जसले उनलाई सत्कार र संस्कारको गतिलो अनुभव दिलाएको छ ।

विदेशमा रहेपनि आफ्नो मातृभूमिलाई माया गरिरहने र बेला बखत देशलाई सहयोग गरिरहने त्यतिमात्रै नभएर विदेशमा समेत देशको नाम जोडेर विश्वप्रसिद्ध क्लवको स्थापना नै गर्ने कृष्णलाई हाम्रो सलाम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.