इटहरी । लाइसेन्स बिना चलेका सिटी सफारी चालकलाई अनिवार्य बिमा गर्न लगाएर लुटतन्त्र मच्चाएको भन्दै सफारी चालकहरुले इटहरीमा रहेको यातायात व्यवस्था कार्यलयमा नाराबाजी गरेका छन् ।
सयौंको संख्यामा इटहरीको यातायात कार्यलय अगाडी भेला भएका सिटी सफारी चालकहरुले क्षतीपुर्ती नपाउने बिमामा चालकलाई अनिवार्य गरेको भन्दै आक्रोस पोखेका थिए । आफुहरु, राजश्व तिर्न, बिमा गर्न तथा दर्ता नवीकरणको पक्षमा रहेको भएता पनि क्षतीपुर्ती नपाउने बिमामा लगानी गर्न भने तयार नभएको बताउँदै क्षतीपुर्ती नपाईने बिमा तत्काल रोक्न यातायात व्यवस्था कार्यलय इटहरीका प्रमुख राजकुमार गुप्तालाई अल्टिमेटम दिएका थिए ।
छलफलमा इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक भिम बहादुर खड्का, अखिल नेपाल टे«ड युनियनका प्रदेश कमिटीका टिका प्रसाई, अखिल नेपाल सिटी सफारी संघका कुमार तामाङ्ग, स्वतन्त्र सिटी सफारीका शुक्रबहादुर तामाङ्ग, मजदुर अभियान्ता एंव नेतृ संगीता कार्की लामा, प्रदिप तामाङ्ग लगायत बिभिन्न ७ वटा सिटी सफारी संघका प्रतिनिधिहरु सहभागि थिए ।
सवारी लाइसेन्स लिन आग्रह गर्दै यातायात कार्यलयका प्रमुख गुप्ताले बिमाको सम्बन्धमा आफुले बिमा कम्पनी, सहित सरोकारवाला पक्षको सहभागितामा छलफल गर्ने र मन्त्रालयमा समेत खवर गर्ने प्रतिवद्धता जनाएका थिए ।
यातायातमा दर्ता भएका सिटी सफारीलाई नगरबाटै दर्ता नविकरण गर्न थालेदेखि नगरमा सफारी दर्ता क्रम चलेको छ तर दर्ता नवीकरणमा अनिवार्य बनेको तेस्रो पक्ष बिमामा लाइसेन्स नभएका अधिकांस सवारीचालक मारमा परेका छन् ।
झण्डै १६ हजार सिटी रिक्सा रहेको तथ्यांक कोशी प्रदेशमा ६ हजार सिटी इटहरी उपमहानगरमा मात्रै छन् । स्वरोजगार बन्ने सहज माध्यम भेटेपछि सिटी सफारी खरिद गरेर चलाउन थालेका अधिकांश सँग सवारी चालक अनुमतिपत्र छैन न त सवारी किन्ने बेला र पास गर्ने बेला सवारी चालक अनुमति पत्र खोजिन्छ तर अहिले गाह्रो भएको कुरा भने तेस्रो पक्ष बिमा हो ।
प्रतियात्रु ७ सयका दरले सफारीको क्षमता अनुसार बार्षिक कम्तीमा ६ हजार २ सय २६ रूपैँयाभन्दा बढी बिमा रकम दर्ता तथा नवीकरणको बेला तिर्नुपर्छ तर लाइसेन्स नै नभएकाले तिरेको यो रकम बिमा दावी भने नहुने बिमा कम्पनीहरुको भनाई छ ।
इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेलले बिमा अनिवार्य नहुने बताए पनि यातायातमा कार्यालयले भने चालकलाई बिमा अनिवार्य हुने भन्दै कानुन संसोधन नगरी विना बिमा गर्न नसकिने बताउँदै आएको छ । कतिपय सिटी सफारीलाई बिमा विनै नविकरण गरेको अथवा कर्मचारीसँगको सेटिङमा १ हजार देखि २ हजार रुपैँया तिरेर नविकरण गर्ने गरेको पाइएको भन्दै सिटी सफारी सम्बद्ध प्रतिनिधिहरुले उक्त कुराको सुधार गर्न यातायात प्रमुखसँग माग राखेका थिए ।
इटहरी उपमहानगर भरी धेरैमा २० प्रतिशत सवारी चालकको मात्रै अनुमति पत्र भएको र बाँकि ८० प्रतिशत सवारी चालकको अनुमतिपत्र नभएको सफारी चालक सम्बद्ध संस्थाहरुको भनाई छ । उनीहरुले लाइसेन्स नभएका सफारी चालकको तेस्रो पक्ष बिमा अनिवार्य नगर्न आग्रह गरेका छन् ।