इटहरी । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले राष्टपति रनिगं सिल्ड तथा अन्य बिभिन्न प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
आइतबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।
बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई नगद ५० हजारसहित सम्मान गरेको छ भने त्यस्तै, हालै माल्दिभ्समा सम्पन्न १३ औँ दक्षिण एसियाली शारीरिक सुगठनका स्वर्णपदक विजेता झापाका ललित धिमाललाई नगद २५ हजारसहित सम्मान गरिएको छ ।
तेस्रो दक्षिण एसियाली योगा खेलकुदमा स्वर्ण जित्ने झापाकी स्वेच्छा थापा, एसिसी मेन्स यु १६ इस्ट जोन कप क्रिकेटका मोरङका कृतिक कामत, मलेसियामा भएको अन्तर्राष्ट्रिय करातेका स्वर्ण पदक बिजेता सुनसरीका अशेष मगर, एसियन सेन्ट्रल जोन सिनियर महिला बिच भलिबलकी स्वर्णधारी पाँचथरकी कोपिला उप्रेतीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, एसियाली योगा खेलकुदमा रजत जित्ने झापाका जय चौधरी, युएइमा भएको एसियन युथ एन्ड जुनियर बक्सिङकी कास्य विजेता झापाकी नरिका राई, थाइल्यान्डमा भएको एसिया यु२२ बक्सिङ च्याम्पियासिपकी कास्यधारी झापाकी त्रिसा जवेगू र नेपालमा भएको काभा महिला भलिबलमा कास्य जित्ने खोटाङकी शान्तिकला तामाङ पनि सम्मान गरिएको थियो ।
बोर्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक पाउने खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरेको थियो । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुदमा आर्चरीमा रजत पदक जित्ने अञ्जु राई सुनसरी र स्मृति उप्रेती झापालाई नगद ५० हजारसहित सम्मान गरियो ।
बोर्डले १३ औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्ने सातजना, रजत पदक जित्ने १३ जना र कास्य पदक जित्ने १९ जनालाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण पदकलाई १५ हजार, रजत पदकलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई नगद पाँच हजार प्रदान गरियो ।
१३ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक जिताउने १२ जना प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । बोर्डले कार्यक्रमको अवसर पारेर बोर्डले आर्थिक वर्ष २०७९र०८० मा उत्कृष्ट जिल्लाको रुपमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलाई नगद १५ हजारसहित सम्मान गरेको छ ।
त्यस्तै, फिफा सहायक रेफ्री किरण गिरी, सुनसरी जिल्ला भलिबल संघ, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला, स्पाइनल इन्ज्युरी संघ सुनसरीलाई पनि सम्मान गरिएको थियो । गिरीलाई नगद १५ हजार र अन्यलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
पुरस्कृत खेलाडी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, कार्यक्रमका अध्यक्ष प्रदिप भगत, रितेश श्रेष्ठलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।