प्रकाश बन्जारा ।
रामधुनी । प्रायजसो डाक्टर बन्छु भन्ने उदेश्य केटाकेटीमा बाहेक थोरैको मात्रै हुन्छ । धेरै जसो भेटिएका डाक्टरहरु आमा बुबाको उदेश्य पुरा गर्न डाक्टर बन्छन् । डाक्टर बन्छु भनेर छिरिसके पछिको गाह्रो अप्ठ्यारो निकै छ त्यो पुरा गर्न निकै ठुलो चुनौती पनि हुन्छ ।
डाक्टर बन्नु र कुनै विषयको विज्ञता लिनु अर्थात कन्सल्ट्यान्ट बन्नु झनै फरक हो । एमविविएस अर्थात कक्षा १२ पछिको ५ बर्षमा डाक्टर बन्न सकिन्छ एमविविएस पछि नेपाल मेडिकल काउन्सिलको परिक्षा उत्तिर्ण गर्नासाथ जागिरे बन्न पनि सकिन्छ तर धेरैले एमविविएसमा मात्रै सन्तुष्टि भेट्दैनन् ।
जतिबेला एमविविएसको डिमाण्ड देखेर अध्ययन थालिन्छ आफुले एमविविएस सक्दा त्यहाँ डिमाण्ड देखिदैन कुनै विषयमा विशेषज्ञता हासिल गर्ने चाहाना हुन्छ । चाहाना हरु मरिहाल्दैनन् । एक पछि एक गर्दै बरु थपिन्छन् त्यस्तै नियम लागु हुन्छ डा. सितेन्द्र यादवमा पनि । बालरोग विशेषज्ञ डा. सितेन्द्र यादव जतिबेला भर्खरै एमविविएस सकाएर काठमाण्डौको किस्ट मेडिकल कलेजमा बालरोग विभावमा जागिर सुरु गरेका थिए त्यतिबेलाको खुशी कम्तीको थिएन ।
हुन पनि जिन्दगीको पहिलो जागिर खुशी नहुने कुरा पनि भएन तर मानिसको जिवन पुर्ण भने हुँदैन । उनले पनि मेडिकल अफिसरमा मात्रै आफुलाई पुर्ण देखेनन् र विज्ञता हासिल गर्न फिलिपिन्सको साउथ वेष्टर्न युनिभर्सिटी मेडिकल सेन्टरमा पुगे त्यहाँको विज्ञता पछि अहिले थपिएको उपाधि हो पेयोडेष्ट्रिक कन्सल्ट्यान्ट । त्यसपछि थपिएको अनुभवले उनलाई वरिष्ट बाल तथा नवजात शिशु रोग विशेषज्ञको भुमिकामा देखाइदिएको छ र माग पनि उत्तिकै छ ।
सप्तरी स्थायी घर भएका यादवको परिवार शैक्षिक क्षेत्रको हो । सितेन्द्रका बाबा र आमा दुवै शिक्षण पेशामा छन् । सितेन्द्रलाई डाक्टर बनाउने चाहाना पहिलादेखि सितेन्द्रको नभएर बुबाको रहेछ । राजविराजको दुर्गा सेकेन्डरी स्कुलबाट एसएलसी सकाएपछि सितेन्द्रले काठमाण्डौको भिएस निकेतनबाट प्लस टु सकाएका थिए ।
एक बर्ष एमविविएसको इन्ट्रान्स अर्थात प्रवेश तयारी पनि गरे तर हरेक तयारी सफल हुँदैनन् पहिलो बर्ष सितेन्द्रको सफल हुने सपना फेल भयो लिखतमा त नाम निकालेका थिए तर ओरल अर्थात मौखिक परिक्षा उनले सोचेजस्तो भएन । तर उनी फेल पटक्कै भएनन् बरु समयलाई भाग्न नदिन त्यहि साल चाइनाको चङचो विश्वविद्यालयले उनलाई एमविविएसमा स्वागत गर्यो । १२ व्याज भन्दा बढी नेपालीहरु पास गराइसकेको चङचो विश्वविद्यालयमा एमविविएस गर्न सितेन्द्रलाई सहजै भयो । सहजताको कारण धेरै नेपाली र भारतीयहरु नै त्यहाँ प्रशिक्षण गर्थे । अनुभव साटासाट गर्न र भाषिक समस्यामा गुज्रिनु नपरेपछि अध्ययनले सार्थकता पाउने गर्दछ ।
५ बर्षे एमविविएस सकाएका सितेन्द्रले काठमाण्डौको कान्ति बाल अस्पताल, प्रसुती गृह र वीर हस्पिटलमा प्रयोगात्मक अर्थात इन्टर्नसिप गरे जसले नेपालमा रहेका सरकारी हस्पिटलमा कस्तो स्वास्थ्य सेवा उपलव्ध छ कसरी सेवा दिइन्छ र पास आउट भएपछि कसरी भिज्न सकिन्छ भन्ने मिठो अनुभव दिलायो ।
डा. सितेन्द्रले पहिलो जागिर किस्ट मेडिकल कलेजमा पाएका थिए । लाइसेन्स आउनासाथ प्रयास गरेको पहिलो पाइला नै सपल भएपछि उनले २ बर्ष किस्टमा आफ्नो समय दिए । किस्ट मेडिकल कलेजको पेडिया अर्थात बालरोग बिभागमा काम गरेका सितेन्द्रलाई २ बर्ष पछि सोहि क्षेत्रमा विज्ञता हासिल गर्ने चाहाना भयो । त्यहि चाहाना पुरा गर्न बाल तथा नवजात शिशु रोगकै विषयमा एमडी गर्न त्यसपछि उनि फिलिपिन्स गए ।
फिलिपिन्स त्यसैपनि अमेरिकी स्टान्डर्ड मा चलेको राष्ट्र । ‘त्यहाँ नियम हुन्छ र त्यो पालना गरिनुपर्छ नियम त हाम्रो देशमा पनि नभएको होइन तर यहाँ प्रोटोकल छैन ।’ सितेन्द्रले सुनाए । मिठो बोल्ने फिलिपिन्सहरूसँग उनीहरुकै शैलीमा बोल्नु र कलेजको असाइनमेन्ट सक्नु अनि विरामीसँग घुलमिल हुँदै आफ्नो विज्ञतालाई खार्दै लैजानु फिलिपिन्सले सिकाएको ज्ञान हो । डा. सितेन्द्रकै भाषामा भन्नुपर्दा फिलिपिन्समा शिक्षा र स्वास्थ्यको सिस्टम राम्रो छ जसलाई हरेक नागरिकले अनुभुति गर्न सक्छ ।
फिलिपिन्समा पहिलो २ बर्ष लगातार ३६ घण्टासम्म हस्पिटलमा खट्नुपरेको अनुभव सितेन्द्रसँग छ । ‘पहिलो दिन ३६ घण्टा पछि घर आयो भोली पल्ट ९ बजेदेखि ५ बजेसम्म ओपिडी हेर्न फेरी पुग्नुपर्थ्यो ।’ डा. सितेन्द्र आफ्नो अनुभव साट्ने क्रममा बेष्ट सञ्चारसँग सुनाउँछन् ।
पछि सिनियर हुँदै गएपछि जुनियर डाक्टरहरुको स्केजुल बनाउने अह्राउने सिकाउने गर्न पर्ने उनले बताए । फिलिपिन्सबाट बालरोगमा एम डि गरेपछि यादवको माग ह्वात्तै बढ्यो ।
बालबच्चाको क्षेत्रमा काम गर्नु डाक्टरको ठुलो च्यालेन्ज हो जो बोल्न सक्दैन , कहाँ पिडा भएको छ त्यो भन्न सक्दैन तर डाक्टरले बिरामीलाई हेरेको भरमा उसको गतिविधि नियालेको भरमा र उसले देखाएका लक्षणबाट विरामीको रोग पत्ता लगाउँछ र उचित परामर्श दिएर बिरामीलाई ठिक गराउँछ , बच्चाको अभिभावकलाई बुझाउँछ । पेयोडेष्ट्रिकमा अर्को चुनौती औषधीको ब्यालेन्स पनि हो । बच्चालाई उसको तौल अनुसारको औषधीको डोज खुवाउनु पर्ने हुन्छ । ‘हामी बच्चाको मुभ अर्थात अवस्था हेरेर मनोवैज्ञानिक हिसावले बच्चाको विराम पत्ता लगाउँछौँ ।’ डा. सितेन्द्र थप्छन् ।
एमडी गरेपछि सितेन्द्रले काठमाण्डौकै सिद्धिबाल तथा महिला हस्पिटल, कान्ति बाल अस्पताल तथा सुमेरु अस्पतालमा एक बर्ष बिताए । त्यतिवेला धरानमा विजयपुर अस्पताल सुरु भइसकेको थियो । निकै राम्रो अफर मिलेपछि सितेन्द्रले काठमाण्डौ छोडेर धरानलाई आफ्नो कार्यक्षेत्र बनाए । सन् २०१९ मा धरानको बिजयपुर हस्पिटलमा फुल टाइम कन्सल्ट्यान्ट को रुपमा सितेन्द्रले काम सुरु गरे । खासै नराम्रो थिएन तर नयाँ नभएपछि लामो समय एकै ठाउँमा बस्न मन लागेन पछि उनि विराटनगर सर्ने निधो गरे । बिराटनगरमा सञ्जीवनी हस्पिटल बन्ने भयो त्यहाँ पनि फुल टाइम गरे तर सन्जिवनी हस्टिल सोचेअनुसार चल्न सकेन ।
अहिले उनि विराटनगरको गेटवेल र पारस हस्पिटलमा ठुलो समय दिन्छन् त्यसबाहेक दैनिक सेवा इटहरीको पञ्चकोशी र कलश मेडिकल र सान्वी सिटी हस्पिटलमा छ भने झुम्काको साई हस्पिटलमा पनि सितेन्द्रको सेवा छ ।
सितेन्द्रले मेडिकल डिग्री बाहेक अमेरिकाको बोस्टन युनिभर्सिटीबाट नुट्रिसनमा समेत विज्ञता हासिल गरेका छन् । जुन झण्डै आधा बर्षको अनलाइन कोर्ष गरेपछि मिलेको हो ।
पढाई र काममा तल्लीन हुँदै गर्दा डाक्टरहरुको आधा भन्दा बढी उमेर ढल्किसकेको हुन्छ ।सबैको जिन्दगीसँग आ–आफ्नै गुनासा हुन्छन् । कोही परिवारको अपेक्षा पुरा गर्न सकिएन भनेर दिक्क छन् । कोही छोरा–छोरी जहान परिवार छाडेर पछिको जिन्दगी सुन्दर बनाउने सपनाका साथ दूरदराजमा सेवा दिइरहेका छन् ।
धेरै डाक्टरहरु विदेश गइसके । सरकारले डाक्टरहरुलाई सम्मान दिन नसक्दा विदेशलाई विकल्पको रुपमा लिनेको संख्या एकदमै कम छ । प्राय डाक्टरहरु रित्ता गोजीमा रहेको डाक्टरहरुको कुरा सुन्दा थाहा हुन्छ । बुढेसकाल लाग्दा पनि परिवार जोड्नै बाँकि रहेका तथा जोडिएका परिवारसँग पनि भेट नभई बसेका डाक्टरहरु थुप्रै भएको सितेन्द्रले हामीलाई सुनाए ।
अहिले बजारमा डाक्टरको अभाव छैन तर अवका दिनमा उत्पादन हुने डाक्टरहरु कहाँ जाने भन्ने ठुलो प्रश्न चिन्ह खडा भएको छ सितेन्द्र भन्छन् । सरकारले डाक्टरहरुको लोकसेवा नखुलाएको बर्ष भएको छ करिव ३५ हजार डाक्टरको भिडमा १२ सय जना मुस्किल लोकसेवा मार्फत पदपुर्ति गरिएका छन् बाँकीको जिवन एकदमै गाह्रो भएको सितेन्द्र सुनाउँछन् ।
त्यसैपनि एउटा व्यक्ति डाक्टर बनिसक्न करिव १ करोडको खर्च हुन्छ त्यो खर्च अनुसारको हेण्सम स्यालरी सरकारले दिँदैन न त बजारले नै त्यो हिसाबको माया दिन्छ । तड्पिएर आएको बिरामीलाई उपचार गरेर, ठीक पारेर डिस्चार्ज गर्ने दिन उसको मुस्कान हेरेर पनि खुशी त मिल्छ तर आफ्नो परिवारसँगको सम्पर्क मुस्किलले जुर्छ । सितेन्द्रले पनि सप्तरीमा भएको आफ्नो परिवारलाई भेट्ने भनेको बेला बेलाका चाडपर्वमा त्यो पनि मुस्किलले मात्रै रहेछ ।
सेवा र पेशाको ब्यालेन्स मिलाउँदा मिलाउँदै डाक्टरको जिन्दगी वित्दैछ । सितेन्द्रले पिडा लुकाएर भने ।‘अहिले शनिवार परिवारलाई समय दिन थालेको छु तर त्यो दिन पनि भर्ना भएका बिरामीको अवस्था एक पल्ट नियाल्नजानु नै छ गम्भिर भएपनि दिनै बिरामीसँग दिनै बिताउनु पर्छ त्यसको ग्यारेन्टी भने छैन । ’
अहिले शहरमा च्याउ सरी उम्रिएका हस्पिटलहरू बिना सुपरभिजन चल्दा जनताको विश्वास स्वास्थ्य प्रति गुम्दै गएको उनि सुनाउँछन् ।
सरकारले पेशाकर्मीलाई सम्मान गर्न नजान्दा विकराल अवस्था आएको बताउने सितेन्द्र अवको दिनमा डाक्टर बन्छु भन्नेले एक पल्ट सोचेर मात्रै निर्णय लिने अवस्था आएको बताउँछन् । राज्यले डाक्टरलाई गरेको उपेक्षा र वक्रदृष्टिको परिणाम निकै दर्दनाक रहेको उनको बुझाई छ ।