प्रकाश बन्जारा ।
इटहरी । इटहरीमा घर भएकाको सिटी सफारी मात्रै इटहरी उपमहानगरपालिकाले गर्दा गर्ने भनेपछि सफारी चालकहरु आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
बाहिरी स्थानीय तहबाट इटहरीमा बसोबास गर्दैै रोजीरोटीका लागि सिटी रिक्सा चलाउने मजदुरहरुले उपमहानगरले बसाई सराई तथा इटहरीको स्थानीयबासी हुनुपर्ने नियम राखेपछि आन्दोलित भएका हुन ।
इटहरी नगरभित्र घरबास भएकाहरुलाई मात्रै उपमहानगरमा सफारी दर्ता गर्ने र बाटो इजाजत दिने भएपछि बाहिरबाट इटहरीमा आएर सिटी रिक्सा चालकहरुले रोजीरोटी मा प्रहार भएको बताएका हुन ।
२ हप्ता पहिला इटहरी उपमहानगरले यातायातमा दर्ता हुँदै आएका सफारीलाई नगरमै दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।
सिटी सफारी दर्ता कार्यविधि अनुसार इटहरी उपमहानगरभित्रको ठेगाना भएको नागरिकता अथवा बसाई सराई दर्ता अनिवार्य गरेको छ ।
पाँच हजार भन्दा बढी सफारी चालक रहेको इटहरी उपमहानगरमा करिव २० प्रतिशतमात्रै नगरको स्थायी बासिन्दा भएपनि बाँकि बाहिरी पालिकाबाट इटहरी आएर सफारी चलाउँदै आएका छन् ।
इटहरीमा १८ देखि २० प्रतिशतमात्रै सफारी चालक स्थानीय रहेको भन्दै नगरको त्यस्तो निर्णयले सफारी चालकको गाँसमा समस्या पर्ने स्वतन्त्र सिटी सफारी संगठन इटहरीका अध्यक्ष शुक्रबहादुर तामाङ्ग को भनाई छ ।
नगरले यातायातमा दर्ता भएको सिटी सफारलाई नगरमै दर्ता गर्ने बाटो खुलाएपछि अहिले सफारीहरू नगरमा दर्ता हुन आउने क्रम जारी छ । तर इटहरी स्थायी घर भएकाहरुलाई मात्रै नगरले दर्ता नविकरण दिने भएकाले फाट्टफुट्ट मात्रै सफारीहरू दर्ताको लागि आउने गरेको इटहरी उपमहानगरपालिकाले बताएको छ ।
नगरमा सिटी सफारी दर्ता तथा नविकरण गर्न अनिवार्य इटहरी बासि हुनुपर्ने जसमा नागरिकता अथवा बसाई सरी आएको दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने इटहरी उपमहानगरपालिकाको सफारी दर्ता शाखाका प्रमुख गणेश भट्टराई बताउँछन् ।