प्रकाश बन्जारा ।
रामधुनी । रामधुनी नगरपालिकाले अनुदानमा दिने हाते ट्याक्टर अर्थात पावर टिलर पुर्व मेयर जयप्रकाश चौधरीले पाएका छन् ।
नगरपालिकाको कृषि शाखाले बिहिबार आयोजना गरेको एक कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा मेयर चौधरीलाई हाते ट्याक्टर प्रदान गरेको हो ।
नगरले आवेदन माग गरी प्राप्त आवेदनमा नगरको विशेष आर्थिक समितिले अनुगमन गरेर पावर टिलर वितरण गरिएको नगरका कृषि शाखा प्रमुख तुलसीराम चौधरीले बताए ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा १५ कट्ठाभन्दा माथि खेती हुने नगरभरीका कृषकबाट छनौट गरेर उपयुक्त ठानिएका हरुलाई पावर टिलर वितरण गरीएको प्रमुख चौधरीले बताए । बिहिबार वडा नम्बर १को कार्यलय तथा कृषि शाखाको प्राँगढमा आयोजित एक कार्यक्रममा १५ जनालाई पावर टिलर र १ जना किसानलाई रिपर प्रदान गरिएको थियो ।
२ लाख ४९ हजार ९ सय मुल्यमा खुल्ला प्रतिस्पर्धा मार्फत खरिद गरिएका पावर टिलरमा किसानले १ लाख २५ हजार हाराहारी लागत दिएका छन् भने बाँकि नगरपालिकाले व्यहोरेको छ ।
साना किसानहरुको पहुँचमा जाओस भनेर स्थलगत अनुगमन समेत गरेर पावर टिलर वितरण गरिएको कृषि शाखा अधिकृत तुलसीराम चौधरीको दावी छ । पुर्व नगरप्रमुख जयप्रकाश चौधरी पनि मापदण्डमै परेका कारण पावर टिलर दिइएको चौधरीले बताएका छन् ।
१५ कठ्ठा जग्गा आफ्नो अथवा अरुको ठेक्का गरी भोग चलन गर्दै गरेका किसानलाई पावर टिलर अनुदानमा दिने गरी मापदण्ड बनाइएको र सोहि मापदण्डका किसानलाई प्रदान गरिएको नगरपालिकाको भनाई छ ।
यता पाँच बर्ष नगरप्रमुखको हैसियतमा रहेका व्यक्तिले हाते ट्याक्टर लिन नहुने भन्दै विरोध भइरहेको सन्दर्भमा पुर्व नगरप्रमुख चौधरीले भने आफु हिजो पनि किसानको छोरो र आज पनि सक्रिय राजनीति त्यागेर कृषिमै लागेको प्रतिक्रिया दिएका छन् ।
वेष्ट सञ्चारसँगको कुराकानीमा बोल्दै चौधरीले २०६४ सालदेखि खेत छाडेको मान्छे अव कृषिमै फर्किन लागेको कारण नगरले दिने अनुदानमा आवेदन दिएको र अनुदान लिएको बताए । ‘अनुगमनमा आउनु भएको साथीहरुलाई पछि विरोध हुन्छ भने म लिन्न भनेको हुँ त्यस्तो विरोध हुन्छ भने म अहिले पनि फिर्ता गर्न तयार छु तर मैले पुनः किसान हुन पाउने कि नपाउने ?’ चौधरीको प्रश्न थियो ।
सामान्यतया आफु सादा जिन्दगी विताउँदै आएको बताउँदै पुर्व मेयर चौधरीले भने ‘मैले कस्तो जिवन विताउँदै आएको छु पाँच बर्ष जनप्रतिनिधिको रुपमा विताए पनि मेरो बैँक ब्यालेन्स के छ त्यो पनि हेरिनुपर्यो म किसानको छोरो हुँ र अव कृषिमै फर्किएँ । ’
पुर्व नगरप्रमुख चौधरीले आफु अव सामाजिक सेवा गर्ने तर सक्रिय राजनीतिमा भने नजाने उद्घोष गरेका छन् । ‘म सामाजिक सेवा गर्छु तर सक्रिय राजनीतिमा जान्न यो तपाईकै सञ्चारमाध्यमबाट मेरो घोषणा भयो ।’बेष्ट सञ्चारसँग चौधरीले उद्घोष गरे ।