बजेटमा असन्तुष्ट रामधुनी नपाका वडा अध्यक्ष भन्छन् टोल टोलबाट योजना संकलन, पुरानै नीति, बिभेद पुर्ण कार्यक्रम

रामधुनी । असार ५ गतेसम्ममा एकिकृत बजेट तथा योजना तर्जुमा गरि नगर कार्यपालिकाबाट पास गर्नुपर्ने भएपनि रामधुनी नगरपालिकाले भने नगरसभा सम्पन्न भइसक्दा समेत असार १० गते कार्यपालिका बैठकको माइन्यूट नै नगरेको बुझिएको छ ।

नगर कार्यपालिकाको बैठक बसेको माइन्यूट नै नगरी अथवा कार्यपालिकाबाट अनुमोदन नगरी बजेट प्रस्तुत गर्नु बैधानिक नभएको तर्क नगरसभा चलिरहँदा वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम चौधरीले अघि सारे । नगरसभाका सभाध्यक्ष नगरप्रमुख शंकरलाल चौधरीले भने आज नगरसभा सदस्यहरुको समय भएकाले वडा अध्यक्ष नगरसभाको आयोजक रहेको र यसमा वडाअध्यक्षले बोल्न नहुने भन्दै बारम्बार बस्न आग्रह गरिरहे । नोट अफ डि सेन्टको कुरा आधिकारीक नआएको भन्ने जवाफ उपमेयर तारा थापाले राखेपछि उक्त जवाफ नै गैह्र जिम्मेवार भएको आरोप नगरसभामै प्रस्तुत गरियो ।

असार १० गते हरेक स्थानीय पालिकाले नीति कार्यक्रम तथा बजेट ल्याउनै पर्ने नीतिगत व्यवस्थालाई आत्मसाथ गर्दै रामधुनी नगरपालिकाले ६८ करोड २१ लाख रुपैँया बराबरको बजेट प्रस्तुत गरिरहँदा केहि वडाअध्यक्षहरू त्यसमा असन्तुष्ट रहेको देखिन्थ्यो भने दलीय व्यवस्था र उर्दी मान्नै पर्ने भएका कारण पनि प्राय मौन देखिन्थे ।

नेकपा एमाले तर्फका कार्यपालिका सदस्यको बहुमत रहेको रामधुनी नगरपालिकाको नगरसभामा समेत सोहि पार्टीको बहुमत छ ।
नगर कार्यपालिकाको बैठक रहेको दिन असार ९ गते आफुहरुलाई बिहान १० बजे नै बोलाएर झण्डै ५ घण्टा ढिलो गरी नगरसभा आयोजना गरेको आरोप कार्यपालिका सदस्यहरुले लगाएका छन् । कार्यपालिका बैठकमा गत बर्षकै नीति तथा कार्यक्रम जस्ताको तस्तै ल्याएको कार्यपालिका सदस्य बताउँछन् ।

नीति तथा कार्यक्रम निर्माण गर्न उपमेयरको संयोजकत्वमा गठित समितीले जस्ताको तस्तै नीति कार्यक्रम प्रस्तुत गरेको ती कार्यपालिका सदस्यले सुनाए । आफुहरुले आवाज उठाएपछि त्यसका केहि परिमार्जन गरिएको प्रस्तुत नीति कार्यक्रम तथा बजेटप्रति असन्तुष्ट हरु बताउँछन् ।

नगरले प्रस्तुत गर्ने बजेट भनेको नगरको एक बर्षभरि विकास र नगरबासीको भाग्य र भविष्यसँग जोडिएको भएकाले पनि त्यसमा हेलचेक्रयाइँ गर्नुनहुने उनिहरुको भनाई छ । ‘पुरानै कार्यक्रम आयो तथापि हामीले रोक्न चाहेनौँ र मिटिङमा बस्यौँ, नीति कार्यक्रम यथार्थपरक र सिर्जनात्मक आएन त्यसैले हामीले हस्ताक्षर गरेनौँ ।’वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरी बताउँछन् ।

उक्त दिन नीति तथा कार्यक्रममा हस्ताक्षर नगरी नोट अफ डिसेन्ट लेख्ने भनाई राख्नेमा वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार चौधरी र घनश्याम चौधरी रहेको बताइएको छ ।

कम्तीमा नगरमा रहेका ९ वटा वडालाई समान बजेट हुनुपर्ने साथै कसैलाई पनि विभेद गर्न नहुने वडाअध्यक्षहरूको आवाज थियो ।
देख्दा भव्य नीति देखिएपनि नीति तथा कार्यक्रममा ७० प्रतिशत मेल नखाने देखिन्छ । नगरले सुनसरी मोरङ्ग सिंचाई करिडोरका जमिन बाँझो नराख्ने तथा राख्न नदिने, एक बर्षमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउने भनेपनि त्यसमा बजेट नै छुट्टाएको देखिँदैन । वडामा जानुपर्ने बजेटमा समेत नगरले आफ्नो खुसीले बजेट हालेको तर टोल टोलमा योजना छान्न भनेर परिपत्र गरेपनि बजेट तथा कार्यक्रममा भने टोलबाट छानिएका योजना नै नपरेको बिरोधका स्वरहरु प्रसस्त छन् ।

‘फर्मालिटि पुरा गर्न योजना माग गरियो तर कार्यक्रम गोजीबाट हालियो अरु केहि भएन त्यसैमा हाम्रो बिरोध हो ।’ वडा नम्बर ९ का अध्यक्ष घनश्याम चौधरीले भने । ‘कुनै स्थानमा ५ हजारको ह्युमपाइप नभएर समस्या छ तर कतै १० लाखको टाली हाल्ने बजेट छुट्याइएको छ बजेट विनियोजनमा आवश्यकता खुट्याइएको देखिदैन ।’ रामधुनी ४का राजन भट्टराई बताउँछन् ।

नगरसभामा उपस्थित भएको रामधुनी १ का वडा अध्यक्ष महेश कुमार चौधरी कम्तीमा आफ्नो वडामा कहाँ कुन योजना आवश्यक छ भन्ने कुरा मेयर उपमेयरलाई भन्दा पनि वडा अध्यक्षलाई थाहा हुने भएकाले मेयर उपमेयरले वडाको योजना कहाँ हाल्ने भन्नेमा हस्तक्षेप गर्न नहुने बताउँछन् ।

स्थानीय सरकारले एक स्थानीय सरकार एक हस्पिटल, एक स्थानीय सरकार एक इलाका, एक स्थानीय सरकार एक बसपार्क, एक स्थानीय सरकार एक खेलमैदान जस्ता कुनै पनि नीति बजेटले नसमेटेको बताइन्छ । त्यसो त नगर खेलमैदानको रुपमा वडाबाट डिपिआर तयार गरेको वडा नम्बर ९को खेलमैदानलाई नगरले जानी जानी बजेट विनियोजनका लागि प्रदेश सरकारमा समेत परिपत्र नगरेको आरोप वडा नम्बर ९ को छ ।

उपल्लो तहमा बस्नेहरुले जानी जारी आफ्नो प्रभाव कायम गर्न कमजोर उपस्थिती रहेका जन निर्वाचितहरुलाई घेराबन्दीमा पार्न खोजेको आरोप छ । गाउँ गाउँमा बस्ने जनतालाई आकर्षित गर्ने खालको बजेट जनताले अपेक्षा गरेको भएपनि त्यस्तो नभएको बासिन्दाहरु बताउँछन् । यहाँका उद्योगी व्यापारीलाई टिकाउने बजेट विनियोजन नभएको व्यापारीहरुको भनाई छ । आर्थिक मन्दीको चपेटामा परेका व्यावसायीलाई नगरले बजेट तथा कार्यक्रममा मार्फत सम्बोधन गर्न नसकेको उनीहरु बताउँछन् ।

त्यसो त नगर गौरवको आयोजनाका नाममा नगरले १ लाख देखि डेढ लाख र २ लाख रुपैँया समेत विनियोजन गरेको छ । नगर गौरवको बजेटमा १ लाख देखिको बजेट विनियोजन हुनु मनोगत भएको टिप्पणी असन्तुष्ट नगरसभा सदस्य राख्छन् ।

नगरसभा चलिरहँदा वडा नम्बर १ का वडा सदस्य जिवन श्रेष्ठले खेलक्षेत्रमा यथोचित बजेट विनियोजन नभएको भन्दै त्यसमा पुनर्विचार राख्न भनेका थिए ।भने वडा नम्बर १ का वडा सदस्य रामभरोस रौनियारले वडा नम्बर १ मा बनेर उपयोग बिहीन भएको वधशालालाई मर्मत गरेर भाडामा लगाउन सुझाएका थिए । पदाधिकारी इन्धन खर्च, योजना बिनाको न्यायिक समितिलाई छुट्टाइएको १२ लाखमा असन्तुष्ट पक्षका प्रश्नहरु अड्किएका भएपनि नगरसभाले बजेट पास गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.