प्रकाश बन्जारा ।
इटहरी । इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था र सोहि उपमहानगरको वडा नम्बर २० मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण हुने भएको छ ।
आफु बलियो भएर सदस्यलाई चुस्त सेवा दिने उदेश्यले समान उदेश्य लिएका दुई सहकारीको एकिकरण हुने भएको किसान कल्याणका अध्यक्ष शालिकराम ढकालले बताएका छन् ।
२० हजार सदस्य रहेको किसान कल्याणसँग १ अर्व १५ करोड भन्दा बढीको कुल सम्पत्ती रहेको छ भने १२ करोड ४ लाख ७२ हजार सेयर पुँजी रहेको छ । ९२ करोड ९० लाख ऋण लगानी रहेको किसान कल्याणले १७ करोड १५ लाख ४३ हजार भन्दा बढी तरलता रहेको जनाएको छ ।
उता एकिकरण भएर आउन लागेको सुन्दर बचतसँग भने ८५ लाख ३८ हजार ९ सय सेयर पुँजी रहेको छ । साकोसमा ८० लाख १८ हजार बैँक हिसाव ४ लाख २७ हजार लगानी र ५ लाख ८० हजार नगद मौजात रहेको बताइएको छ ।
दुवै सहकारीलाई एक आपसमा एकिकरण हुन प्रदेश सहकारी रजिष्टारले असार ४ गते नै सहमति दिइसकेको छ भने सहकारी एकिकरणमा केहि गुनासा भए राख्न १५ दिने सार्वजनिक सुचना समेत जारी गरिसकिएको छ ।
किसान कल्याणलाई गत मंसिर २० गतेको साधारणसभाले एकिरणका लागि संचालक समितिलाई अख्तियारी दिएको थियो भने सुन्दर बचतको गत जेष्ठ २७ गतेको विशेष साधारणसभाले एकिकरण हुने प्रस्ताव पास गरेको थियो ।
दुवै सहकारी एकिकरण पश्चात नाम किसान कल्याण बचत तथा ऋण सहकारी संस्था नै रहने र मुख्य कार्यलय इटहरी १६ बालग्राममा रहने किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बताए ।