प्रकाश बन्जारा ।
झुम्का । संघीय सरकारले सुरुमा समायोजन भएका स्वास्थ्य तर्फका कर्मचारीका लागि मात्रै तलव पठाउने गरेपछि रामधुनी नगरपालि अन्तर्गतका स्वास्थ्य संस्थाका काम गर्ने कर्मचारीले ३ महिना देखि तलव पाएका छैनन् ।
पछाडि समायोजन तथा मिलान भएका, अन्तै दरबन्दी भई रामधुनी नगरभित्र कामकाज गरिरहेका कर्मचारीलाई संघीय सरकारले तलव नपठाएपछि स्थायी कर्मचारीलाई नै तलव खुवाउन गाह्रो परेको हो । स्वास्थ्य संस्थामा स्थायी कर्मचारीलाई ससर्त अनुदानबाट तलव भत्ता खुवाउने स्थानीय तहले संघीय सरकारबाट आएको पैसा फागुनमै सकिएपछि अहिले तलव विहिन भएका हुन ।
विगतका बर्षहरुमा तलव पठाउने गरेकाले यस बर्षपनि पठाउँछ भन्नेमा आशावादी रहेको रामधुनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेल बताउँछन् । फागुन १५ मै संघीय सरकारले पठाएको पैसा सकिएपछि एक महिनाको तलव स्थानीय स्रोतबाट खुवाएको भएपनि बाँकि तलव अहिले खुवाउन नसकिएको तर संघीय सरकारबाट आउने आशामा रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाको भनाई छ ।
‘संघले असारमा पठाउने गरेको छ यसपालि पनि आउनेमा आशावादी छौँ आएन भने के गर्ने त्यसमा नगरसभामा छलफल गरेर अगाडी बढ्छौँ ।’ थापाले वेष्ट सञ्चारसँग भने ।
यता २०७४ को समायोजनको बेला रामधुनी आएर सेवा दिन थालेका एक स्वास्थ्य कर्मी भने आफुहरुलाई आउने वित्तिकै नगरपालिकाले पदस्थापन गर्नुको सट्टा कामकाज गर्न सहमति दिएको बताए । ‘हामीलाई त्यतिवेलै पदस्थापन गरेको भए अहिले यो समस्या भोग्नुपर्ने थिएन ।’ उनले भने ।
पछिल्लो समय समायोजन भएका र पालिकाको सहमतिपछि आएका स्वास्थ्यका कर्मचारीहरुलाई तलव खुवाउन समस्या भएको हो ।
रामधुनी नगरक्षेत्रका स्थायी दरबन्दी भएका कर्मचारीको मात्रै तलव रामधुनी नगरपालिकामा आउने गरेको छ भने बाँकि स्वास्थ्य कर्मीको तलव जहाँ उनीहरुको स्थायी दरबन्दी हो त्यहाँ जाने गरेको छ त्यसैले ससर्त अनुदानमा सबै स्वास्थ्य कर्मीलाई पुग्ने तलव आउदैन ।
छिमेकी पालिका इटहरीले भने संघीय सरकारबाट आएको तलव ६ महिनामै सकिएपछि आन्तरिक स्रोतबाट स्थायी कर्मचारीको तलबभत्ता पछि सोधभर्ना हुनेगरी भन्दै उपलव्ध गराएको छ । तर रामधुनी नगरको हकमा भने आन्तरिक स्रोत नै कमजोर भएकाले विकल्प खोज्नै पर्ने अवस्था रहेको स्वास्थ्य शाखा बताउँछ ।
संघीय सरकारले हस्पिटल र स्वास्थ्य केन्द्र खोल्न बजेट विनियोजन गर्ने तर दरबन्दी सिर्जना नगर्ने गर्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेल बताउँछन् । स्वास्थ्य कर्मीको तलव भत्ताका लासि संघीय सरकारमा पत्र पठाइसकिएको केहि दिनमा पैसा आउने आशा गरिएको पौडेलले बताए ।