प्रकाश बन्जारा
इटहरी। एउटा यात्रा तब सम्पन्न हुन्छ, जब त्यो यात्राले सार्थकता प्राप्त गर्छ । सबैले तय गरेको यात्रामा सफलता प्राप्त हुन्छ नै भन्ने पनि छैन । त्यो भाग्य, भविष्य र उसले यात्रामा दिएको निरन्तरताले पनि निर्धारण गर्छ । कति यात्राहरू बीचमै रोकिएका प्रशस्त उदाहरणहरु हामीमाझ छर्लङ्गै नभएका होइनन् ।
आजको बसाइलाई हामी एकछिन सबैले बिर्सँदै गएको माओवादी जनयुद्धतिर मोडौँ । कुनै समय देश दर्दनाक अवस्थामा थियो । जनयुद्धको नाममा हजारौंको मृत्यु भयो, कति अहिले पनिृृृृृ बेपत्ता छन् र कतिले घाइते जीवन बिताइरहेका छन् । होला, त्यसमध्ये कतिले सोचजस्तै उपलव्धी पनि पाए होलान तर समग्रमा देशलाई जनयुद्धले दिएको भनेको एक थान अपरिभाषित लोकतन्त्र र एक थान अपूरो संविधानबाहेक केही देखिँदैन । हो त्यही महान जनयुद्धमा जिन्दगीको लामो समय व्यतित गरेकी संगीता कार्की लामाको कुरा आजको बसाइमा जोड्न चाहान्छौँ ।
भोजपुरको प्याउली गाविसको विजयबासमा २०४२ चैत्रमा जन्मिएकी उनको नाम सरिता कार्की हो । पछि संगीता भनियो र संगीता नै कायम भयो । किसान परिवारमा जन्मिएको भएपनि राजनीतिक चेत भएको परिवारमा हुर्किएकी संगीताको कक्षा ७ सम्मको पढाइ मावली घर भोजपुरकै स्यामसिलामा भएको थियो । पछि घरै आएर पढ्न थालिन् । देशमा माओवादी द्वन्द्व चर्किँदै थियो । माओवादी द्वन्द्व चर्किँदै गर्दा माओवादीले गाउँ–गाउँमा जाने र आफ्ना विचार र सिद्धान्तहरू फैलाउने काम गरिरहेको थियो । त्यसबेला १४ बर्षकी थिइन् संगीता कार्की । उनलाई घरमै चलेको वर्गीय विभेद मन पर्दैनथ्यो ।
सासुको खटनका नाममा आफ्नै हजुरआमाले आफ्नी आमालाई गरेको खटनृृृृपटन संगीताले मन पराउँदिनथिन् । दाजुभाइबीच हुने गरेका लडाइृृँझगडाहरु प्रतिशोधको भावना विकास गर्दै गरेका हुन्थे । त्यस्तै विभेदको विरुद्ध आवाज ओकल्छु भन्ने हेतुले संगीतालाई माओवादीको विद्रोही शैलीले लोभ्यायो । त्यसपछि उनले लडाकु जिन्दगीको सुरुवात गरिन् ।
दुस्मनबाट जोगिनु चानचुने कुरा थिएन त्यतिमात्रै गरेर भएन जनयुद्ध सफल पार्नुपर्ने महान उद्देश्य जो थियो । संगीता महान उद्देश्यका साथ जंगल पसिन । उनलाई पछ्याउँदै माइलो दाजु र जेठो दाजु पनि जनयुद्धकै लडाकु बने । पछि माल्दाजु भने बिरामी भएर निस्किए तर पार्टीले पैसा खाएर निस्किएको लान्छना लगाउँदै उनीहरुको सम्पतिहडप्यो ।
संगीता पार्टीको जासुस विभागमा थिइन । पार्टीले दिएको जिम्मेवारीअनुसार उनले गोप्य भन्दा गोप्य सूचनाहरु संकलन गर्नुपर्ने र पार्टीलाई दिनुपथ्यो । दमन नगर्ने र नसहने संगीताको पुरानो बानी हो । तथापि माओवादी जनयुद्धमा पनि ठूलालाई चैन र सानालाई ऐन कायमै रहेको संगीताको बुझाइ छ । जनयुद्धमै होमिएको बेला संगीताको भेट ताप्लेजुङका क्याक्टुक लामासँग भयो ।
भेट त लामाजस्तै हजारौँ सँग भएको थियो तर उनीसँग मन मिल्यो, संगीताले १६ वर्षको उमेरमै अन्य १९ जोडी भएको समारोहमा २०६१ साल मंसिर २१ गते वैवाहिक सम्बन्ध जोडिन् क्याक्टुक लामासँग अनि संगीताको नामसँगै अर्को थर पनि जोडियो संगीता कार्की लामा । जनयुद्धको विवाहको दर्दनाक पीडा पनि यस्तो थियो कि विवाह गरेको पहिलो रात नै उनीहरु संगै हुन पाएनन् ।
विवाह गरेको दिनबाट छुटेका उनीहरु एकै पटक झण्डै डेढ वर्षपछि बन्दिपुरको लडाइँको दिन भेटिए । कम्पनी कमाण्डको रुपमा जिम्मेवारी सम्हाल्दै थिए त्यतिखेर उनका श्रीमान क्याक्टुकले । लडाइको क्रममा संगीताको एक पटक टाउकोमा गोली लाग्यो अर्को पटक हातको कुहिना नेर ग्रिनेडको छर्रा लाग्यो । अहिले पनि उनको दाँया हातको कुहिनामा स्टिल हालिएको छ निकाल्नै नमिल्ने गरी ।
भोजपुर, इलाम, घोरेटार, बन्दिपुरजस्ता युद्धहरूमा लडेकी संगीता माओवादी शान्ति प्रक्रियामा आएपछि टाँडीको क्याम्पमा पुगिन् र उनका श्रीमान पनि त्यहीँ पुगे । दक्ष लडाकुमै परेको थियो यो जोडी । तर सेनामा समायोजन हुने कि अवकाश लिने भन्ने रोजाइमा उनीहरुले अवकाश रोजे । केही वर्षको ताप्लेजुङ बसाइपछि इटहरी २ आँपगाछीमा बसोबास गर्न थाले ।
आँपगाछी आउनुअघि २०६४ सालमा जेठी छोरी जन्मेकी थिइन भने २०६६ मा अर्की छोरी । इटहरीमा संगीताले दश हजार रूपैँयाबाट सव्जी व्यापार सुरु गरिन् । इटहरी ९ मा भएको साप्ताहिक हटिया लाग्ने ठाउँमा सानो पोखरी थियो । त्यही पोखरीको डिलमा बसेर सव्जी व्यापार सुरु गरेको स्मरण अहिलेसम्म ताजै छ । पार्टीबाट अवकाश लिएर निस्कँदा ६ लाख दिने भनिए पनि एक डेढ लाख पार्टीले काटेर दिएको सम्झिँदा पनि संगीतालाई पार्टीप्रति केही गुनासो रहेनछ ।
अहिले हामीले पाएको लोकतन्त्र पार्टीले दिएको उपलव्धी भएको उनले बताइन । पार्टीले कार्यकर्ता बिर्सियो, महल सम्झ्यो अनि पैसाको मोहमा फस्यो । आज हजारौँ घाइतेहरु युद्धको पीडामै बसेका छन् । संगीता स्वयम् पनि शहीद परिवारकी बुहारी रहिछन् । उनका काका ससुराको छोरा जनयुद्धकै क्रममा मारिएका थिए । वर्षौं जनयुद्ध लडेका उनका श्रीमानको पनि मेरुदण्डको हड्डी टुटेको कारण चाँडै प्यारालाइसिसको सम्भावना रहेको उनको भनाइ थियो ।
कुनै बेला धनकुटाका दुर्गा बास्तोलाबाट १५ हजार रुपैयाँ सापटी लिएर थालेको व्यापारले संगीताको जीवन उकास्दै गयो । कुनै बेला अरुले फालेको टमाटर बटुलेर होटलमा बेच्दा आउने १ सय रूपैँयाले छाक टार्दै आएका उनका श्रीमान र संगीताले पहिला ठेलामा टमाटर बेच्न थालेका थिए । अहिले एक सफल व्यापारी भन्दा फरक पर्दैन । यो उनको आफ्नै अनुभवले बताउँदैछ । सडकमा व्यापार गर्दै गर्दा मजदुरका आवाजहरू बोल्न थालिन् संगीता ।
अन्यायको विरुद्धमा अघि सर्ने उनको पुरानै बानी हो । त्यसैले पनि उनले अन्यायको विरुद्ध आवाजहरू ओकलेकी छन् । मजदुरको पक्षमा लडाई लड्दा कति अफरहरु पनि नआएका होइनन् ।‘बिक्ने हो नै हो भने पैसामा बिक्ने अवसर हरु पनि आएका थिए तर मजदुरको हक अधिकारका लागि सगरमाथा भन्दा उच्च शिर झुकाउन चाहिनँ ।’ संगीताले हामीलाई सुनाइन् ।
संगीताले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदमा आफ्नो भाग्य परिक्षा समेत गरिसकेकी छन् । लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेद्वार बनेर चुनावमा होमिदाको अनुभव सँगालेकी कार्की अव स्वतन्त्र हिसावले देश र जनताको सेवामा लाग्ने अठोट व्यक्त गर्छिन । नागरिक भएर जिउनुको जिम्मेवारीलाई पूरा गर्दैै इटहरीमा मात्र नभई सुनसरी र देशमै मजदुरको हक हित स्थापनाको लडाइलाई सार्थक बनाउने संगीताको सपना रहेछ ।
संगीतालाई हामीले निर्वाचन पहिला पनि भेटेका थियौँ प्रदेशसभा सम्मको यात्रामा सफल हुनुभयो भने इटहरीको लागि के गर्नुहुन्छ ? भनी उनलाइ हामीले प्रश्न गर्यौँ । संगीता फिस्स मुस्कुराइन । आफूले बनाउने भनेको शहर नभई गाउँ भएको उनले बताइन् । सडकमा १० रुपैयाँको साग बेचेर जीविकोपार्जन गर्ने श्रमिकहरुले सुरक्षित प्रबन्ध, सामाजिक सुरक्षाकोष, बजार व्यावस्थापन, सिटि सफारी चालकहरुको समस्या, आदि उनको प्राथमिकताका विषयहरु रहेछन् ।
कम आयआर्जन भएका श्रमिकहरुको लागि स्वास्थ्य बीमा गरिदिने आफ्नो प्रण संगीता सुनाउँछिन् । त्यति मात्र नभएर किसानले उब्जाएको सामानले उचित बजार नपाउनु, बिचौलियाको बिगबिगी हुनु लगायतका आफूले देखेका समस्या संगीताले हामीलाई सुनाइन् । यी सबैको समाधान नीतिगत तहबाटै हुनु जरुरी छ । जसका लागि संगीताको यात्रा सफल बनोस् ।
अर्कोतिर संगीताको समाजसेवी मन पनि बढो कमलो रहेछ । दुख देखिने जो कोहीलाई आफुले सकेको सहयोग गर्न पछि नहट्ने उनि कहिले छात्रवृद्धि वितरण गर्दै हुन्छिन् त कहिले पीडामा परेकालाई राहत सहयोग बाँड्दै हिड्छिन् । कोरोना कालमा धेरै समय धेरै ठाउँमा राहत बाड्न हिँडेकी संगीता आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने भनाइ राख्छिन् ।