सदस्यको जिवनस्तर उठाउन उद्धत्त सहकारी, लाखको व्यापार करोडमा पुर्याउनेको कथा

प्रकाश बन्जारा ।

इटहरीकी मैमुना खातुतको जीवनशैली सहकारीकै कारण निकै माथि पुगेको छ । सहकारीको सदस्य नहुँदा कुनै समय ४ लाख रुपैयाँमा सापट लिँदा व्याजसहित ७ लाख तिरेकी खातुन सहकारीको सदस्य बनेपछि ऋण लिन होस् या त आफुसँग भएको बेला बचत गर्न होस् सहकारीकै सहारा लिने गरेकी छन् ।

इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाकी असल ऋणी खातुन सहकारीको सदस्य बनेको करिब ६ वर्ष भयो । ‘सहकारीमा पसेको एक वर्षमै तिर्न बाँकी ऋण तिरेर जग्गा किन्न सफल भएँ’, खातुनले हामीलाई सुनाईन । ३ लाख, ६ लाख गर्दै सहकारीबाट कर्जा लिन थालेकी खातुनले आफ्नो श्रीमानको लागि सिटि सफारी पनि सहकारीकै ऋणबाट लिएकी छन् । सहकारीकै माध्यमबाट सुरु भएको उनको आर्थिक उन्नयनले हाल इटहरी उपमहानगरभित्रै घर बन्दैछ । सहकारीहरु डुब्दै गएको खबर खातुनले नसुनेकी होइनन् तर उनलाई आफ्नो संस्थाप्रति विश्वास र भरोषा दुबै छ । त्यसो त संस्थाले बेला बेला तालिम दिन्छ, जसले कसरी स्वरोजगार हुने भन्ने सिकाउँछ । बेला बेला अध्ययन भ्रमण लैजान्छ जसबाट व्यवहारिक ज्ञान पनि हासिल गर्न सकिन्छ । सहकारी संस्थाहरु सदस्यको पैसाबाट जथाभावी अनावश्यक भ्रमणहरु भने जान नहुने र खर्चमा एकदमै मितव्ययी हुनुपर्ने सहकारी अभियान्ता शालिकराम ढकाल बताउँछन् ।

त्यसो त इटहरी उपमहानगरकै खनारमा फेन्सी पसल गर्दै आँएकी कमला खतिवडा २०६८ सालदेखि इटहरीकै दुर्गा बचत तथा ऋण सहकारी संस्थाकी सदस्य हुन। भैंसी पालन र फेन्सी पसल सञ्चालन गर्दै आइरहेकी कमलाले सुरुमा अढाई लाख रुपैयाँ ऋण लिएर २ वटा भैंसी किनेकी थिईन । असल ऋणीमा दर्ज भएपछि अढाई लाखबाट सुरु भएको कमलाको कर्जा यात्रा अहिले २० लाखभन्दा माथि पुगेको छ । ‘जे होस् सहकारीले व्यावहार टार्न सहज बनाएको छ’, कमला सुनाउँछिन्, ‘व्याजको सरलता त बैंकमा हुन्छ भन्छन् तर आफुलाई सहकारीमै रस भिजेको छ ।’

दुर्गा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई कसरी व्यवसायिक बन्ने भन्ने तालिममात्रै होइन व्यवसायमा होमिने सदस्यलाई सहुलियत दरका कर्जा समेत प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक कुमार निरौला बताउँछन् । सहकारीले सहज ढंगबाट सदस्यलाई बचतको बानी पनि बसाउने र कर्जा लगानी पनि गर्ने भएको हुँदा सदस्यहरु सहकारीबाट टाढिन नसकेको स्वीकारोक्ति खतिवडाले हामीसँग गरिन ।

यता २०६५ सालमा बैदेशिक रोजगारीका लागि कतार गएका मोरङ्गको सुन्दरहरैँचाका योगेन्द्र पोखरेल अहिले सिप र दक्षता सहित देशमै स्वरोजगार बनेका छन् । बैदेशिक रोजगारमा गएपनि योगेन्द्रलाई स्वरोजगार बनाउने काम इटहरीको पुर्वान्चल बचत तथा ऋण सहकारी संस्थाले गरेको छ । २०६७ सालमा सोही सहकारीबाट १ लाख रुपैँया ऋण लिएर सुरु गरेको योगेन्द्रको व्यावसाय अहिले १ करोड रुपैयाँको भएको छ । २०६७ सालमा १ लाख ऋण लिएर दुर्गा ड्राइभिङ्ग सेन्टर दर्ता गराएका उनि ३ वर्षपछि देश फर्किएर ड्राइभिङ्ग तालिम सञ्चालन गर्न थालेका हुन् । हाल सोही संस्थाका प्रोपाइटर उनि सहकारीले सामान्य आर्थिक हैसियत भएका सदस्यहरुलाई माथि पुर्याएको अनुभव गर्छन । दश वर्षदेखि निरन्तर सञ्चालनमा आएको दुर्गा ड्राइभिङ्गले १५ सय भन्दा माथिलाई लाइसेन्स दिलाउन सफल भएको छ भने दश कठ्ठा जमिनमा भाडामा लिएर पोखरेलले सरकारी मापदण्डको तालिम केन्द्र निर्माण गरेका छन् ।

आज दुर्गा ड्राभिङ्गमा ३ जनाले नियमित रोजगार पाएका छन् भने ४ वटा गाडी सञ्चालनमा छन् । १ लाखबाट कर्जा लिन सुरु गरेका योगेन्द्र कर्जा मात्रै लिँदैनन् आफ्नो नियमित कमाईको बचत पनि त्यही सहकारीमा गर्ने गरेका छन् ।
कर्जा लिँदा जुन प्रयोजनका लागि लिइएको हो सोही प्रयोजनमा खर्च गर्ने हो भने पछुताउनु पर्ने अवस्था नआउने योगेन्द्रको अनुभव छ । सहकारीको माध्यमबाट सदस्यहरुको जिवन स्तर उठाउने कुरामा आफु सदस्य रहेको सहकारी संस्था अब्वल रहेको योगेन्द्रले हामीलाई बताए । सहकारीमा सदस्य भएपछि सदस्यहरुले बेलामा बचत गर्ने, आवश्यक परेको बेलामा कर्जा लिने बेला मौकामा अध्ययन अवलोकन भ्रमण गर्ने र वार्षिक केहि लाभांश दिने काम आफ्नो सहकारीको मार्फत भइरहेको पोखरेलले सुनाए । योगेन्द्रले सहकारी कर्मबाट सुरुवाती गरेको व्यावसायबाट आफ्ना दुई छोरा उत्सव र उज्जललाई पनि राम्रै शिक्षा दिन सफल भएका छन् ।

सहकारी आन्दोलनलाई सफल बनाउन आफुहरुले सदस्यहरुलाई उद्यममा जोडिनेगरी बिभिन्न कार्यक्रम ल्याने गरेको पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अध्यक्ष दिनेश भट्टराईले बताए । उत्पादनमा जोडीने गरी लगानी गर्न कर्जा लिने सदस्यलाई किस्ता तिर्न गाह्रो नहुने अध्यक्ष भट्टराई सुनाउँछन् ।

सहकारी संस्थामा विश्वास घटिरहेको बेला इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारीले भने सदस्यहरुलाई कृषि उत्पादनमा जोड दिने गरी विभिन्न कार्यक्रमको आयोजना गर्न थालेको छ । केही समय अघि कृषिमा लाग्ने सदस्यहरुलाई लक्षित गरेर झापा र सप्तरीका बिभिन्न कृषि फार्महरुको अध्ययन अवलोकन गराएको किसान कल्याणले चाँडैनै सदस्यहरुलाई अहिले चलेको कृषि व्यावसाय ड्रागन फ्रुटको खेती सम्बन्धि तालिम सञ्चालन गर्न लागेको बताएको छ ।

झण्डै १२ बर्षदेखि किसान कल्याण बचत तथा ऋण सहकारीको सदस्य बनेका इटहरीका हिरालाल गिरी सहकारीको माध्यमबाट मध्यम वर्गिय किसानहरुलाई लागि धेर नै उद्दार भएको बताउँछन् । कुनै समय किसान कल्याणबाटै सानो कर्जाबाट आफ्नो व्यावसायमा हात हालेका गिरीले अहिले आफ्नो राम्रो व्यावस्था गरेका छन् । आफुलाई साह्रो गाह्रो परेको बेला सहकारीले बिना धितो नै ३ लाख सम्म ऋण दिने हुँदा साना तथा कम आयस्रोत भएका र धितो योग्य पुँजी समेत नभएका सदस्यहरुका लागि सहज बनाईदिएको गिरीले हामीलाई सुनाए । केहि समयदेखि स्वास्थ्य अवस्थाका कारण घरमै आराम गरीरहेका गिरी सहकारीको माध्यमबाट स्वरोजगार हुन सकिने विश्वास जनाउँछन् ।

सहकारीका सिदान्त अनुसार सदस्यको आर्थिक सहभागिता अनिवार्य हुने र त्यो आर्थिक सहभागिता समेत दोहोरो भए मात्रै सहकारी चल्न सक्ने किसान कल्याण सोकोसका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।

आवश्यक परेको बेला सहकारीबाट कर्जा लिने, आफुसँग भएको बेला बचत गर्ने, शेयर खरिद गर्ने तथा अर्थोपार्जकका काममा लगानी गर्ने काम सदस्यले गर्ने सक्छन् भने सहकारीले सदस्यको क्षमता विकास गर्ने, वित्तीय साक्षरताका तालिम सन्चालन गर्नेकाम गर्नुपर्ने र मात्रै सहकारीहरु दिगो रहन सक्ने सहकारी अभियान्ता समेत रहेका ढकालले हामीलाई सुनाए ।

सहकारी संस्थाहरु नाममा मात्रै सहकारी भएर नहुने बरु काममा समेत सहकारीका सिद्धान्तहरु लागु गर्न सक्नुपर्ने र मात्रै सदस्यमुखि सहकारी संस्था हुन सक्ने सहकारी म्यानेजरर्स क्लब सुनसरीका अध्यक्ष पुस्कर बस्नेतको भनाई छ । सहकारी संस्थाको दिगोपनमा सन्चालक समिति हावी हुनु, संस्थाको नियम र नीति विनै जथाभागि ऋण लगानी गर्नु, जगेडा कोषमा राख्नुपर्ने रकम नराख्नु तथा ठोस सम्पत्तीमा लगानी गर्नु जस्ता कामले अहिले सहकारीसंस्थालाई बदनाम गरिरहेको बस्नेतको भनाई छ ।

सहकारी संस्थाहरुले सदस्यलाई निरन्तर सुचना र तालिम दिनुपर्ने, सबै सहकारी बिच पारस्परिक सहयोग आदान प्रदान हुनुपर्ने तथा सहकारीले आफु रहेको समुदायमा समेत चासो दिनुपर्ने सहकारीका सिद्धान्तले बताउँछ । राज्यले तोकेको निश्चित कानुन मानिसकेपछि स्वायत्तता तथा स्वतन्त्रताको सदुपयोग गरिरहेका सहकारी संस्थाहरु सदस्यप्रति उत्तरदायी हुनुपर्ने, सदस्यलाई साह्रो गाह्रो पर्दा कार्यविधि बनाएरै सदस्यलाई सहयोग गर्नुपर्ने भएता पनि कतिपय सहकारी संस्थामा संचालकहरुले मनपरी खर्च गर्ने परिपाटीले पनि कतिपय सहकारी संस्थाहरु धारासाहि भएको पाइन्छन् । केही केही सहकारीले गरेको बदमासिले समग्र सहकारी क्षेत्रलाई नै बदनाम गरीरहेको अभियान्ताहरु बताउँछन् ।

सहकारी संस्था सदस्यहरुकै सेयर, सदस्यहरुकै बचतमा खेलेका हुन्छन् त्यसो भएको हुनाले जथाभावी खर्च गर्नाले सदस्यलाई नै नोक्सानी हुने हुन्छ । आम सदस्यको बचत तथा सेयरमा एकाध व्यक्ति अथवा सन्चालक हावी हुँना कम्पनी धारासायी हुने साथै सदस्यले आफ्नो बचत समेत आफुलाई चाहिएको बेला निकाल्न नपाउने अवस्था सिर्जना भएको सहकारी अभियान्ताहरु बताउँछन् । एकाध सहकारीमा भएको बदमासिले समग्र सहकारी क्षेत्रलाई एउटै डोकोमा हाल्ने काम भइरहेको तर सबै सहकारीमा समस्या नरहेको कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय बताउँछ । केही समय अगाडी सहकारी रजिष्ट्रारको कार्यालयले एकाध सहकारीमा समस्या आएको भएपनि सबैमा त्यो समस्या नहरेकोले निर्वाध सहकारीमार्फत कारोबार गर्न आम सर्वसाधारणमा विज्ञप्ती नै सार्वजनिक गरेको थियो ।

(सहकारी खवरबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.