सहकारी सहकार्यको उदाहरण बन्दै  इटहरीको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ

प्रकाश बन्जारा

इटहरी ।सहकारीहरूको राम्रो सहकार्य भयो भने जे पनि गर्न सकिने रहेछ भन्ने उदाहरण बन्दैछ इटहरीमा निर्माणाधिन दुध पाउडर प्लान्ट ।

दुधको निकै राम्रो उत्पादन हुने कोशी प्रदेशमा कुनै बेला दुध बिक्रि नभएर किसानले मिल्क होली डे मनाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेशका ३५ वटा सहकारी मिलेर सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको जन्म भयो अहिले त्यहि संघले प्रदेशकै नमुना कामको थालनी गर्दै छ ।

किसानबाट संकलन भएको दुध लामो समय राख्न नमिल्ने तर त्यसलाई पाउडरमा परिणत गर्न सके लामो समयसम्म सदुपयोग गर्न सकिने भएकाले तरललाई ठोसमा परिणत गर्ने सपना यहि असार महिना भरीमा सम्पन्न हुन लागेको हो ।

नेपालमै पहिलो पटक विशिष्टिकृत संघ मार्फत सहकारी संस्थाहरुको लगानी र प्रदेश सरकारको सहयोगमा बन्दै गरेको दुध पाउडर प्लान्ट असारको तेस्रो सातासम्म परिक्षण गरेर उद्घाटनको तयारी गरिँदैछ ।

पाउडर प्लान्टमा २५ प्रतिशत विशिष्टिकृत सहकारी संघ र ७५ प्रतिशत कोशी प्रदेश सरकारको लगानी रहेको छ । कोशी प्रदेश सरकारले आयोजनाको लागि १९ करोड ३० लाख भुक्तानी गरिसकेको छ भने कोशी प्रदेशका ६ जिल्लाका ५२ वटा सहकारीहरूले २ करोड ४ लाख रुपैँया सेयर लगानी गरेको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका प्रमुख कार्यकारी अधिकृत मेघराज लुइँटेलले जानकारी दिए ।

लुइँटेलका अनुसार पाउडर प्लान्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकि काम सकेर असार महिनाभित्रै परिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उत्पादन भएको दूधलाई पाउडर बनाउन नीजि क्षेत्रको सहकार्यमा नेपालकै पहिलो प्रयास स्वरुप भइरहेको यो प्लान्टले १ घण्टामा दश हजार लिटर दुध प्रसोधन गर्न सक्ने र ८ घण्टामा ५ टन पाउडर निकाल्न सक्ने क्षमता राख्दछ ।

२०७७ सालमा विशिष्टिकृत सहकारी संघ स्थापना भएपछि गत साल मात्रै निर्माण सुरु भएको पाउडर प्लान्ट साउनमै निर्माण सकिनुपर्नेमा बिभिन्न सरकारी नियम अनुसार एल सि खोल्नुपर्ने भएका कारण ढिलाई भएको कम्पनीको भनाई छ ।

काठमाण्डौको न्यु ड्रागन एण्ड कन्ट्रक्सन जेरीले ठेक्का पाएको निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ । प्लान्टका सम्पुर्ण मेसिनहरु फुड एण्ड बायो टेक इन्डिया प्रालिबाट ल्याइएको छ ।

कोशी प्रदेशका बिभिन्न सहकारी संस्थाहरुबाट न्युनतम १ लाख रुपैँया देखि माथि सेयर लगानी गरेर विशिष्टिकृत सहकारी संघ सन्चालन गरीएको हो । हाल प्रदेशका ६ वटा जिल्लामात्र समेटिएको भएपनि अव काशी प्रदेशका १४ वटै जिल्लाका सहकारी संस्थाहरुलाई समेटेर लैजाने संघका अध्यक्ष बाबुराम खत्रीले बताउँछन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका स्थित आँपगाछी निर्माण भइरहेको यो प्लान्टको मुख्य उदेश्य भनेको आगामी दश बर्ष सम्म प्रदेशलाई मिल्क होलिडे हुन नदिनु नै रहेको संघको सदस्य संस्था किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् ।

पाउडर प्लान्टको निर्माण अन्तिम चरणमा पुगिरहँदा यसको बजार र प्रशस्त दुध पाउने सम्भावना पनि उत्तिकै रहेको दावी संघको छ ।

अहिले दुध अभाव हुनुपर्ने बेलामा समेत बजारमा डेढा हिसावले दुध उपलव्ध रहेको र आफुहरुले किसानलाई प्रोत्साहन गर्ने र उत्साहित बनाउने खालका कामहरु पनि सुरु गरिसकेको अध्यक्ष खत्रीको भनाई छ । त्यसो त अहिले प्रदेश सरकारले किसानलाई हरेक लिटर दूधमा २ रुपैयाँका दरले प्रोत्साहन दिन थालिसकेको छ भने त्यसलाई ५ रुपैँया बनाउने पहलमा आफुहरु लागेको संघका प्रमुख कार्यकारी अधिकृत मेघराज लुइँटेल सुनाउँछन् ।

२०५७ सालतिर प्रशस्त दुध उत्पादन हुने तर उपभोक्ता र प्रशोधनको प्रक्रिया नहुँदा किसानले दुध फाल्नुपर्ने अवस्था थियो त्यहि अवस्थालाई आंकलन गरेर आफुहरुले पाउडर प्लान्टको अवधारण ल्याएको संघ बताउँछ ।

दुध पाउडरका साथै सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघले डेरीको नौनी लगायतका सामानको भण्डारणका लागि समेत ४ करोड ७७ लाख रूपैँयाको लगानीमा तीन लाख केजी भण्डारण क्षमताको कोल्ड स्टोर समेत निर्माण गरीरहेको छ । कोल्ड स्टोरमा माइनस २० डिग्री तापक्रममा दुध जन्य पदार्थको भण्डार गर्न सकिने संघको भनाई छ ।

देशका बिभिन्न ठाउँहरुमा सहकारी र यसका मान्यता सम्बन्धमा बिभिन्न टिका टिप्पणी आइरहँदा सहकारीहरूले पनि ठुला व्यापारिक घराना सरह लगानी गरेर उद्योगको मोडलमा जान सक्छन् भन्ने उदाहरण सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ हो । सहकारी संस्थाहरुलाई विशिष्टिकृत मोडलमा गएर सामुहिक लगानी गर्न दिने अवधारणा अनुरुप यो उपलव्धी हासिल भएको हो । अव ठुलो क्षमता सहित निर्माण भएको दुध पाउडर प्लान्टलाई टिकाइराख्न किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्दै पारदर्शी कारोबार गर्नु नै भएको सहकारी अभियन्ताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.